५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

नुवाकोटमा व्यक्तिगत घर पुनर्निमार्णमा युनोप्सको मनलाग्दी, स्थानीय तहसँग समन्वय शून्य

९ असोज, काठमाडाैँ । भूकम्पपीडितको निजी आवासको सुरक्षित पुनर्निर्माणमा सघाउनका लागि नुवाकोटममा चैतदेखि सञ्चालनमा अाएको नेपाल आवास पुनर्निर्माण परियोजनामा मनलाग्दी देखिएको छ । परियोजनाले नुवाकोटमा भूकम्पपछिको सुरक्षित पुनर्निर्माणका लागि सामाजिक प्राविधिक सहजीकरण  गर्नुपर्नेमा त्यस्तो काम नभएको पाइएको छ । भारत सरकारको सहयोगमा युनोप्सले सञ्चालन गरेको परियोजनाको गत चैतमा सदरमुकाम विदुर नगरपालिका–९, डिही बजारकी मनदेवी शाक्यलाई निःशुल्क नक्शा प्रदान गरी सेवा आरम्भ गरिएको थियो । तर परियोजना सुरू भएको ६ महिनामा भयंकर विवादको भूमरीमा परेको छ ।

परियोजनामा ५६ प्राविधिक इञ्जिनीयरमार्फत भूकम्प प्रतिरोधी २३ हजार ८८ घर निर्माणमा सचेतीकरण, स्थानीय तहसँग सहजीकरण र प्राविधिक सहयोग गरिने सुरूको घोषणा अनुसार युनोप्सले काम नगरेको देखिएको छ । सबैभन्दा महत्वपूर्ण मानिएको स्थानीय तहसँगको समन्वयमा युनोप्स गम्भीर रूपमा चुकेको छ ।युनोप्सले कर्मचारी भर्नामा स्थानीयलार्इ प्राथमिकता दिने भनेपनि नदिएको भन्दै बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बाबुराम गजुरेलले समन्वयमा मात्र काम अघि बढाउन भन्दै पत्रनै काटेका छन । उनले पूर्वप्रतिवद्धता अनुसार काम नगरेको भन्दै स्थानीय तहसँगको समन्वयनमामात्र काम गर्न अाग्रह गरेका छन ।

युनोप्सले परियोजना अन्तर्गत विदुर नगरपालिका र साविकका बर्सुन्चेत, किम्ताङ, सामरी, दाङ्सिङ, खड्गभञ्ज्याङ, गोस्र्याङ, कल्याणपुर, देउराली, बुङ्ताङ, चारघरे, जिलिङ, मनकामना, बागेश्वरी, खानीगाउं, मदानपुर, खरानीटार, सुन्दरादेवी र बालकुमारी गाविसमा काम गरिरहेको छ । यद्यपी सबैजसो स्थानमा युनोप्स विवादमा तानिएको छ ।

पत्रकारलार्इ दूर्व्यवहार 

युनोप्समा अनियमिता भएको र मनोमानी गरेको भन्दै केही सरोकारवाल ज्ञापनपत्र बुझाउन गएको समयमा पत्रकारले प्रश्नगर्दा कर्मचारीले पत्रकारमाथि नै दूर्व्यवहार गरेका छन । नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल लगायतका पत्रकारको टोलीलार्इ युनोप्सका परियोजना संयोजक प्रेमकान्त झा र कर्मचारी शान्ता रानाले दूर्व्यवहार गरेको पत्रकारहरूले बताएका छन ।

प्रेस सेन्टर नुवाकोटका अध्यक्ष रामहरि गजुरेलका अनुसार पत्रकारलार्इ दूर्व्यवहार गर्ने झा र राना उल्टै पत्रकारले दूर्व्यवहार गर्यो भन्दै प्रहरीमा पुगेका छन । उनीहरूले अाफू असुरक्षित भएको भन्दै प्रहरीमा ठाडो जाहेरी दिएका छन । गजुरेलका अनुसार कमर्चारीले समाचार नलेख्न धम्की दिएका थिए तर पछि नमानेपछि उनीहरू प्रहरीमा पुगेका हुन । उनले भने ‘आफ्नो कर्तुत तथा बदमासी सार्वजनिक हुने भयले पत्रकारको कलम र क्यामेरादेखि अत्तालिएका सो परियोजनाका संयोजक प्रेमकान्त झा र कर्मचारी भनिएकी शान्ता राना नाम गरेका यी दुई व्यक्तिले जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेको ठाडो निवेदनमा असुरक्षित भएको र सुरक्षा माग गरिएको नाटक रचिएको छ ।’ उनले  सेवाको नाममा नुवाकोटमा निर्बाधसँग बदमासी गरिरहेको युनोप्सको परियोजनामाथि नै प्रतिबन्ध लगाउनुपर्ने बताएका छन ।

सम्पर्कमा अाउन चाहेनन् झा

दैनिकीले युनोप्सका नुवाकोट परियोजना संयोजक प्रेमकान्त झालार्इ 9812007975 मा पटक पटक सम्पर्क गर्दा पनि फोन काटियो ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार १६:३४