१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

५ महिनामा उपभोक्ता मुद्रास्फीति साढे सात प्रतिशत

२९ पुस, काठमाडाैं । चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ११ प्रतिशत बराबर थियो ।

राष्ट्र बैंकका अनुसार मंसिर महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ५९ प्रतिशत रहेको छ ।

यही अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराा तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव ५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११ दशमलव ८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव शून्य ७ प्रतिशत र पेय पदार्थको आठ दशमलव ८४ प्रतिशतले बढेको छ ।

मंसिर मसान्तसम्ममा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १७ दशमलव ३३ प्रतिशत, स्वास्थ्यको ११ दशमलव २२ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ७६ प्रतिशतले बढेको छ ।

त्यस्तै घरायसी उपयोगका वस्तुहरुको आठ दशमलव २९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको मूल्य आठ दशमलव २९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको विवरणअनुसार यही अवधिमा उपत्यकामा छ दशमलव ५६ प्रतिशत, तराईमा आठ प्रतिशत, पहाडमा सात दशमलव ३२ प्रतिशत र हिमालमा छ दशमलव ४८ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्षको मङ्सिर महिनामा यी क्षेत्रहरुमा क्रमशः पाँच दशमलव ९१ प्रतिशत, सात दशमलव ५२ प्रतिशत, छ दशमलव ९५ प्रतिशत र चार दशमलव ९१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

गत मङ्सिर महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति नौ दशमलव १५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव २२ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : January 13, 2023 at 1:26 pm