२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, तीन नयाँ डिजिटल कर्जा सेवा सुरु

https://www.muktinathbank.com.np/online/loan-application

१ मंसिर, काठमाडौं ।  नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ९०औँ वर्षमा प्रवेश गरेको छ। बैंकले सोमबार आफ्नो ८९औँ वार्षिकोत्सव मनाउँदै तीन नयाँ डिजिटल कर्जा सेवा सञ्चालनमा ल्याएको छ। बैंकको प्रधान कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘फोन लोन’, ‘बाइ नाउ पे लेटर’ (बीएनपीएल) क्रेडिट कार्ड र अनलाइन कर्जा आवेदन पोर्टलको शुभारम्भ गरे। बैंक वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको थियो। यस वर्ष कात्तिक ३० गते ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको हो।

कार्यक्रममा अर्थमन्त्री वाग्लेले उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्न बैंकले उत्पादनशील क्षेत्रमा कर्जा लगानी विस्तार गर्नुपर्ने बताए। उनले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला व्यवसायमा लगानी बढाउन बैंकलाई आग्रह गरे।

उनले संस्थागत सुशासन र वित्तीय अनुशासन कायम गर्दै जनविश्वास बढाउन, डिजिटल बैंकिङ विस्तार गर्न तथा साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न पनि बैंकले थप पहल गर्नुपर्ने उनको भनाइ थियो।

समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको अध्यक्षता बैंक सञ्चालक समितिका सदस्य बद्री खनालले गरेका थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले सहभागीलाई स्वागत गरेका थिए।

बैंकका अनुसार देशभर २३० शाखा, २५० एटीएम र ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। बैंकका करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवाबाट लाभान्वित भएका छन्। वार्षिकोत्सवका अवसरमा २५ वर्ष निरन्तर सेवा गरेका तीन र २० वर्ष सेवा गरेका १० कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो। त्यस्तै, प्रादेशिक तथा भौगोलिक वर्गीकरणअनुसार उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई पुरस्कृत गरिएको बैंकले जनाएको छ।

प्राकृतिक विपत्तिका बाबजुद बैंकिङ सेवा निरन्तर सञ्चालन गरेका त्रिशूली र धुन्चे शाखालाई पनि सम्मान गरिएको थियो। विषम परिस्थितिमा स्याफ्रुबेंसी एक्सटेन्सन काउन्टरमा बैंकको सम्पत्ति संरक्षणमा योगदान पुर्‍याउने कर्मचारी तथा सुरक्षाकर्मीलाई कदरपत्र प्रदान गरिएको बैंकले जनाएको छ।

प्रकाशित मिति : November 17, 2026 at 12:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/