२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

माओवादी र एमालेबीच कर्णालीको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति

२७ पुस, काठमाडाैं । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भए पनि कर्णालीमा उक्त सहमति उल्टिएको हो ।

अब कर्णालीमा सुरूमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई र त्यसपछिको अर्को चरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन् ।

यो सहमतिपछि माओवादी दलका नेता शर्माले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । अब कर्णालीमा पहिलो अढाई वर्ष शर्माले मुख्यमन्त्रीका रुपमा कर्णाली सरकारको नेतृत्व लिनेछन्। त्यसपछि एमाले दलका नेता यामलाल कँडेल सरकारको नेतृत्वमा जाने छन् ।

केन्द्रको निर्णयले पाँच वर्ष सरकार माओवादीले नै चलाउने भएपछि एमालेमा असन्तुष्टि थियो। तर दुई दलबीच बुधबार वार्तापछि अब आधा आधा कार्यकाल नेतृत्व हुने भएको छ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १६:४५