९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

दाबी भुक्तानी शाखा कार्यालयहरूबाटै हुने व्यवस्था गर्न बीमा कम्पनीलाई निर्देशन

२७ पुस, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सबै प्रदेशमा शाखा कार्यालय खाेली दाबी भुक्तानी सेवा दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

उनले सबै प्रदेशमा शाखा कार्यालय खोल्न, शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्न र बीमा दाबी भुक्तानी पनि शाखा कार्यालयहरूबाटै हुने व्यवस्था गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले साना बीमा दाबी भुक्तानीका लागि न्यूनतम कति कागजात चाहिने त्यसको यकीन गरी छिटो दाबी भुक्तानी दिनुपर्ने र त्यसका बारेमा सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने बताए ।

‘बीमाको दाबी भुक्तानी र जोखिमांकनमा समस्या छ, बीमा कम्पनी सकेसम्म दाबी भुक्तानी दिन चाहँदैनन् भन्ने गुनासा आएका छन्, कम्पनीहरुले बीमाको पुनर्बीमा नगराएको र क्षमताभन्दा बढी बीमा गरेका कारण दाबी भुक्तानी रोकिएको भन्ने कुरा आएको छ, अब त्यसका बारेमा सोच्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने ।

बीमा दाबी भुक्तानी बीमा कम्पनीको दक्षताको सूचक भएको उल्लेख गर्दै अध्यक्ष सिलवालले एउटा घटनालाई उदाहरण दिएर बीमा दाबी भुक्तानीमा ढिलो गर्न नहुने बताए । ‘बीमितले विश्वास गरेजस्तै कम्पनीेले पनि बीमितलाई विश्वास गर्नुपर्छ, दाबी भुक्तानी छिटो दिएर बीमाप्रतिको अविश्वासलाई विस्तारै विश्वासमा बदल्नुपर्छ, बीमा व्यवसाय बढाउने बाटोमा अगाडि बढ्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १४:२८