२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदलाई रवि लामिछानेको निर्देशन

२५ पुस, काठमाडौं। संघीय संसदको अधिवेशन सोमबारबाट सुरु हुँदै छ । संसदको अधिवेशन सुरु हुने भएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ना सांसदहरुलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउँदै आवश्यक निर्देशनसमेत दिएका छन् ।

सञ्चार क्षेत्र छाडेर केही महिनाअघि राजनीतिमा लागेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि यसपटक संसदमा सहभागी भएको छ ।

पार्टी गठन गरेलगत्तै ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट संसदमा चौथो दलको हैसियत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

सो पार्टीको संसदीय दलको सोमबार बसेको बैठकमा सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले जनचासो र जनजीविकको विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।

निर्वाचनमार्फत जनताले दिएका जिम्मेवारी, राष्ट्रियहित र स्वाभिमानको विषयमा अडिग रहेर भूमिका खेल्न नेता लामिछानेले निर्देशन दिएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन पनि सांसदलाई भनेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित संसदमा चौथो शक्तिको रुपमा रहेको छ ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १३:२९