२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

उत्कृष्ट गन्तव्य मुस्ताङ उपत्यका


-अर्जुन पाण्डे

नयाँ बर्ष २०२३ को आगमन संगै विश्वको पर्यटन क्षेत्रमा नयाँ आसा र उत्साह थपिएका खबरहरु आइरहेका छन् जसले नेपाल जस्तो देशको पर्यटन व्यावसायमा र साथै समग्र आर्थिक क्षेत्रमा खुसीको लहर ल्याएको छ । यहि बेला देशले नयाँ सरकार पाएको छ र संकटापन्न आर्थिक अवस्था खतरा मुक्त भएको जानकारी संबद्ध निकायहरुले दिइरहेका छन् ।

आर्थिक सूचकहरु सकारात्मक देखिन थालेका छन् । कोभिड महामारी मथ्थर हुँदै जानु, विश्व पर्यटन चलायमान हुन थाल्नु, विभिन्न देशहरुले आवागमनमा महामारी जन्य बन्देजहरु खुकुलो बनाउँदै लानु, नेपालको पर्यटनमा उल्लेख्य भूमिका खेल्ने चीन पर्यटकका निम्ति खुला हुने तर्फ जानु, कोभिडका कारण हवाइ यातायातमा लगाइएका थप बन्देजकारी नियमहरु खुकुलो पार्नु र नेपालले थप दुइ अन्तराष्टिय एयरपोर्ट सन्चालनमा ल्याउनु आदि कारणहरु हेर्दा अब देशको पर्यटन र साथै अर्थ व्यवस्था लयमा फर्कने विश्वास गर्न सकिन्छ ।

विश्व पर्यटनलाइ चलायमान बनाउन यस क्षेत्रमा उर्जा थप्दै हाल अर्को खबर आएको छ जसलाइ सिएनएनले प्रसारण गरेको छ । सो खबर अनुसार नयाँ बर्ष २०२३ मा घुम्नको निम्ति विश्वका २३ उत्कृष्ट गन्तब्य मध्ये नेपालको मुस्तांग उपत्यका १६ औं नंवरमा राखिएको छ । यो सुचीमा राखिएका विश्वका अन्य रमणिय स्थानहरुमा पोल्याण्ड, पश्चिम अष्टेलिया, इंगलैण्डको लिभरपुल, साउथ क्यारोलिनाको चाल्र्सटन, लिथुवानियाको भिलिन्युस, फिजी, ब्राजिलको मनाउस, ग्रीस्को थेस्सालोनिकि, रुवाण्डा, स्वेडनको गोथेनबर्ग,युनाइटेड अरब इमिरेटको रस अलखइमाह, लाओस, स्वजरलैण्डको गुइरीस, मिनेसोटाको मिनियपोलिस, कोलम्बियाको बोगोटा, नेपालको मुस्तांग उपत्यका, तान्जानीया, इजिप्टको कायरो, जापानको नाओसिमा, बेलीजी, मेक्सिको, ओक्साका, क्यानाडाको ओट्टावा, युगाण्डा छन् ।

यो खबरले नेपाल र मुस्ताङ्ग उपत्यका पुनः एक पटक विश्व पर्यटकमाझ चर्चामा आएको छ । यो बर्ष पर्यटकीय नगरी पोखरा देखि राउण्ड अन्नपूर्ण पदयात्रा, अन्नपूर्ण आधार शिविर, मुस्तांग साथै घान्द्रुक, घोरेपानी, पुनहिल क्षेत्रमा समेत पर्यटकहरुको आगमन बाक्लै हुन सक्ने देखिन्छ । तसर्थ यस क्षेत्रमा पर्यटन पूर्वाधार स्तरोन्नती, आवस्यक जनशक्तिको पूनसंयोजन आदि कार्यमा विशेष ध्यान दिएर आजै देखि लाग्नु जरुरी भैसकेको छ ।

कोभिडले थलिएको पर्यटन क्षेत्रलाइ उकास्न यो अत्यन्त सकारात्मक अवसर हो । देशको पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, सम्बद्ध निकायहरु साथै यस क्षेत्रका व्यावसायीहरुले यो बर्ष झनै जिम्मेवार र योजनाबद्ध ढंगले काम गर्ने हो भने यो अवसरबाट मनग्य फाइदा लिन सकिन्छ साथै नेपाललाइ विश्व माझ थप परिचित बनाउन सकिन्छ । यसले खस्किँदै गएको अर्थतन्त्रलाइ टेवा पुग्छ, देशमा रोजगारी बढ्छ, साथै देशको विकासले समेत गति लिने आसा गर्न सकिन्छ ।

पाण्डे पर्यटन व्यवसायी हुन । 

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १०:२६