८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

२०० रुपैयाँमा बैंक अफ काठमाण्डूको सेयर बिक्रीमा, संस्थापक सेयरधनीले गर्लान त खरिद ?

१९ पुस, काठमाडाैं । बैंक अफ काठमाण्डूको केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । बैंकका संस्थापक सेयरधनी भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्रा लिले आफ्नो नाममा रहेकाे ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बेचेर बाहिरिन चाहेकाे छ ।

कम्पनीले आफ्नो नामको सेयर बिक्री गरिदिन बैंकमा निवेदन दिएकाे छ । बैंकले प्रक्रिया पुर्याएर संस्थापकहरूलाई पहिलो चरणमा खरिदका लागि आह्वान गरेकाे छ ।

बैंकका संस्थापहरूले प्रतिकित्ता २०० रुपैयाँ उक्त सेयर खरिद गर्न सक्नेछन् । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै विद्यमान संस्थापक सेयरधनीहरुलाइ ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको छ ।

सेयर खरिदका लागि २०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । पछिल्लाे समय कुनै पनि बैंकका सेयरधनीहरूले संस्थापक सेयर खरिदका लागि इच्छा देखाएका छैन ।

याे हिसावले हेर्दा बैंककाे सेयर पनि संस्थापक सेयरधनीहरूले खरिद नगर्ने त हैन भन्ने चासाेकाे बिषय रहेकाे छ । त्यसैले बैंकले पनि तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेकाे खण्डमा उक्त सेयर कानुनबमोजिम इच्छुक व्यक्ति वा संस्थालाई बिक्री गरिने जनाएकाे छ ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १४:०७