इन्द्रजात्रा पर्व मनाइदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा
८ असोज, काठमाडौं । इन्द्रजात्रा पर्व अाज वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आरधना गरी परम्परागतरुपमा मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा विशेषगरी मनाउने गरिएको छ । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहेको छ । आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।
भूकम्पले भत्किएको गद्दी बैठक यस वर्ष पुनःनिर्माण सम्पन्न भएकाले त्यहीँ इन्द्रजात्राका कार्यक्रम गरिनेछ । तीन वर्षपछि यसपटक गद्दी बैठकमै इन्द्रजात्राको तयारी गरिएको गुठी संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार ०९:१८