१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

बुटवलका डीएसपी ठगबहादुर नियन्त्रणमा, ३५ तोला सुन र २५ लाख नगद बरामद

११ पुस, काठमाडाैं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।

सुनको कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले आइतबार साँझ निवासमा खानतलासी गर्दा लाखौं नगदसमेत फेला पारेको ईलाका प्रहरी कार्यालय स्राेतले बताएको छ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो।

आइतबार साँझ बुटवल आएको प्रहरी टोलीले केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरी स्राेतले बताएको छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेका थिए। आइतबार व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो।

यसअघि नै ईलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडाैँबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ।

केसी करिब १३ महिनाअघि बुटवल आएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले यसबारे आफूले पनि थाह पाएको तर आधिकारीता बारे बुझ्न अनुसन्धान टोलीलाई भेट्न जान लागेको बताए। ‘म अनुसन्धान टोलीलाई भेट्दैछु, त्यसपछि आधिकारिक कुरा के हो बताउँला,’ रेग्मीले भने।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि एक्सन लिइएको बताए। ‘यो प्रहरी प्रधान कार्यालयबाट भएको काम हो, जिल्लामा सिआईबीले सघाएको होला,’ थापाले भने।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ११:३१