२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

माओवादी नेताहरूको बाटो छेक्न कांग्रेस नेता बिमलेन्द्र निधी ओली निवास बालकोटमा !

९ पुस, काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको बैठकमा कांग्रेसले सत्ताको नेतृत्व माओवादीका अध्यक्ष प्रचण्डलाई दिन नसक्ने बताएपछि माओवादी नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा धाउने संकेत देखेपछि कांग्रेस नेता बिमलेन्द्र निधी ओली निवास बालकोट पुगेका छन ।

एमालेले माओवादीलाई बोकेर प्रधानमन्त्री बनाउन सक्ने डरका कारण प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले निधीलाई ओलीसँग कुराकानी गर्ने नाममा बालकोट पठाएको कांग्रेस स्रोतले जनाएको छ । अहिले निधी बालकोटमा छन ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुप्षकमल दाहाल प्रचण्ड र उपमहासचिव वर्षामान पुनले प्रचण्डले प्रधानमन्त्री नपाए गठबन्धन टुट्ने बताएका छन । त्यस्तै एमाले अध्यक्ष ओलीले शनिबारमात्र ओलीले प्रचण्डले गठबन्धन छाड्न ढिला गरेको बताएका थिए ।

ओली निवासमा धारा ७६ को उपधारा २ वा ३ अनुसार सकार गठनबारेमा निधीले छलफल गर्ने कांग्रेस कार्यसूची छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले पहिलो, दोस्रो र तेस्रो को को हो भन्ने नछुट्याए पनि तीन पार्टीका नेता नै आलोपालो प्रधानमन्त्री हुने सहमति भएको छ । राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय आइतबार सकिदैछ ।

कतिपय माओवादी नेताले भने निधीको बालकोट यात्रा माओवादीको पाइला रोक्ने नियतको रूपमा बुझेको छ । माओवादीलाई एमालेले प्रदेशसहितको भागवण्डाको विस्तृत खाका यसअघि नै पठाएको बुझिएको छ ।

त्यसमा माओवादी सहमति बनेर नयाँ गठबन्धन निर्माण भएर सरकार गठन हुने सम्भावना पनि उत्तिकै देखिएपछि कांग्रेसले माओवादीलाई बाटो छेक्नमा एमालेसँग कुरा गरेको जस्तो गरेको उनीहरूको बुझाइ रहेको छ ।

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार २१:५५