२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

लमजुङमा राष्ट्रकवि माधव घिमिरेको पूर्णकदको शालिक निर्माण गरिने

९ पुस, काठमाडाैँ । मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङको गाउँसहरस्थित लमजुङ माध्यामिक विद्यालय प्राङ्गणमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको पूर्णकदको शालिक निर्माण गर्ने भएको छ । प्रतिष्ठानको आज सम्पन्न ‘२१औँ साधारणसभा तथा अधिवेशन’का अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा बमबहादुर थापा ‘जीताली’ले गाउँसहरस्थित लमजुङ माविको प्राङ्गणमा शालिक राख्न राष्ट्रकविको पूर्णकदको शालिक निर्माण भइरहेको बताउनुभयो ।

“लमजुङ दरबारलाई पर्यटकीय र साहित्यिक थलोका रूपमा विकास गर्न पूर्णकदको शालिक निर्माण भइरहेको छ, चाँडै नै उक्त शालिकको अनावरण गछौँ”, उहाँले भन्नुभयो । प्रतिष्ठानका पूर्वअध्यक्षद्वय सोमकान्त अधिकारी र डा देवी सुवेदीले लमजुङमा छरिएर रहेका साहित्यिक प्रतिभालाई प्रतिष्ठानले खोजेर लमजुङको साहित्यिक अभियानलाई थप अगाडि बढाउनुपर्ने बताउनुभयो ।

वरिष्ठ पत्रकार एवं प्रतिष्ठानका संस्थापक सदस्य सोमनाथ घिमिरेले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अभाव मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानलाई खड्किरहेको बताउनुभयो । नवोदित कलेजका प्राचार्य राजेन्द्र अधिकारीले नयाँ विद्यार्थीलाई समेत साहित्यिक क्षेत्रमा सङ्लग्न गरी साहित्यिक अभियानलाई थप अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्षमा विजयराज न्यौपाने निर्वाचित
प्रतिष्ठानको आज सम्पन्न २१औँ साधारणसभा तथा अधिवेशनबाट साहित्यकार विजयराज न्यौपानेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा साहित्यकार भाग्यशाली अधिकारी, सचिवमा श्रीकृष्ण न्यौपाने र कोषाध्यक्षमा लक्ष्मण थापा चयन हुनुभएको छ ।

यस्तै सदस्यमा कृष्ण अधिकारी, रामप्रसाद घिमिरे, अच्युत रेग्मी, अञ्जना पौडेल र यामबहादुर दुरा चयन हुनुभएको निर्वाचन समितिका सदस्य रामरञ्जन घिमिरेले जानकारी दिनुभयो । नेपाली भाषा, साहित्य, कला, संस्कृति, ज्ञान विज्ञान, शिल्प एवं प्रविधिको अध्ययन अनुसन्धान तथा मौलिक सिर्जना संंरक्षणका लागि विसं २०५३ चैत २९ मा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको स्थापना भएको हो ।

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार २०:०३