२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

पाँच दलीय सत्ता गठबन्धनको अन्तिम बैठक बालुवाटारमा ! प्रचण्ड पहिला कि देउवा भन्नेमा विवाद

९ पुस, काठमाडौँ । पाँच दलीय गठबन्धनको अन्तिम बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा सत्ता समिकरणको विषयमा छलफल हुने र प्रधानमन्त्रीको टुंगो लगाइने सम्भावना रहेको छ । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिला प्रधानमन्त्री कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिला प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा गठबन्धनको आजको बैठक नै अन्तिम हुने सम्भावना पनि रहेको छ ।

कांग्रेसले माओवादीलाई झुक्याएर गैर कम्युनिष्टहरूको बीचमै सहमति गरेर बहुमतको सरकार बनाउने तयारी गरिरहेको छ । त्यसका लागि कांग्रेस सभापति देउवाले शनिबार बिहान प्रचण्डसँग कुरा बुझ्नका लागि रामचन्द्र पौडेललाई दूत बनाएर पठाएका थिए ।

अहिले ४ः३० बजे पाँच दलीय गठबन्धनको बैठक बस्ने र त्यसअघि देउवा र प्रचण्डको बीचमा वान टु वान वार्ता हुने स्रोतले जनाएको छ । यसअघि भारतीय जनता पार्टीका महासचिव विजय चौथाइवालको रोहबरमा भारतमै कांग्रेस नेतृ डा आरजु राणा देउवा र प्रचण्डको बीचमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको समाचारहरू सार्वजनिक भएका थिए ।

अहिलेकै गठबन्धन निरन्तर भए पनि त्यसमा दलको संख्या बढ्ने देखिन्छ भने नयाँ समिकरण बने पनि अहिले गठबन्धन भत्किने छ । त्यसकारण परमादेशका लागि बनेको पाँच दलीय गठबन्धनको यो नै अन्तिम बैठक हुनेछ ।

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार १६:०६