१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

नारीशक्तिको सम्मानका लागि तस्वीर

–श्याम रिमाल
२६ फागुन, काठमाडाैँ । कामका आधारमा विशिष्ट बनेका नेपाली महिलाहरुलाई एकै थलोमा भेट्न पाइने भएको छ । विसं २०६९ मा स्थापित सांस्कृतिक सङग्रहालय नेपालले १०८औँ विश्व श्रमिक महिला दिवसका अवसरमा सो अवसर जुटाइदिएको छ । “नारीशक्तिलाई सम्झौँ, महिलाको सम्मान गरौँ” भन्ने नाराका साथ स्थानीय बबरमहलस्थित नेपाल कला परिषद्मा करीब २०० विशिष्ट नेपाली नारीका तस्वीरले सशक्त नेपाली महिलाहरुको झलक दिन्छ ।
नेपालमा पुरुषको दाँजोमा बढी जनसङ्ख्या भएका महिलाहरु सशक्तीकरणमा अघि बढ्दै गएको र तिनले विभिन्न किसिमका हिँसा पनि व्यहोरिरहनुपरेको स्थितिमा तिनका विशिष्टीकृत कामबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको सङ्ग्रहालयका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले बताउनुभयो । श्रेष्ठ आफैँ फोटोग्राफर हुनुहुन्छ जो लामो समयसम्म खेलकुद पत्रकारितामा संलग्न हुनुहुन्थ्यो ।

परापूर्वकालदेखि वर्तमान अवस्थासम्म विभिन्न विधामा नेपाली महिलाले गरेको विशेष योगदानको सम्मानस्वरुप आयोजित ‘नेपालका विशिष्ट महिलाहरु’ शीर्षक ‘ऐतिहासिक फोटो प्रदर्शनी’मा राजनीति, धर्म, संस्कृति, खेलकूद, विज्ञान, कृषि, स्वास्थ्य, सेना, प्रहरी, निजामती सेवा, साहित्य, कला, गीतसङ्गीत, समाजसेवा, उद्यम, वकालत, चिकित्सा, इञ्जिनीयरिङ, हवाई उड्डयन, सवारी साधन आदि विधा र घटनाका तस्वीर करीब २०० तस्वीर राखिएका छन् ।

धार्मिक–सांस्कृतिक क्षेत्रका सीता, भृकुटीदेखि पहिलो महिला चालक लक्ष्मी शर्मा, माउते मीना चौधरी, डोजर चालक मुना घिमिरे, नायिका भुवन चन्द, चैत्यदेवी, कवाडी सामानको व्यवस्थापन गर्ने आयुषी केसी, विश्व फेशनमा सहभागी तेस्रोलिङ्गी अञ्जली लामा, नृत्य प्राध्यापक बेटी बज्राचार्य, कृषि वैज्ञानिक देवकी श्रेष्ठ, च्याउ वैज्ञानिक केशरी मानन्धर, फेशन डिजाइनर ज्ञानीशोभा तुलाधर, प्रथम मूर्तिकार चन्द्रमाया वज्राचार्य, इन्जिनीयर शारदा श्रेष्ठ, कुस्तीबाज भगवती खड्का, नेउवामहासङ्घका प्रथम महिला अध्यक्ष भवानी राणा, नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, कम उमेरमा ओलम्पिकमा सहभागी गौरिका सिंह, पहिलो चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, नेपाल प्रहरीका पार्वती थापा र विमला थापा, दलित समाजसेवी–साहित्यकार मिठाइदेवी विश्वकर्मा, शङक्राचार्यका दावेदार हेमानन्द गिरी, निजी क्षेत्रमा विद्यालय संस्थापक गीता राणा, तत्कालीन युवराज्ञी हिमानी शाह, पहिलो नर्स लामु अमात्य, गायिका मेलवादेवी, पहिलो दलित एलडिओ सीता परियार, दुई विधामा अन्तर्राष्ट्रिय खेलाडी नयना शाक्य आदिलाई नेपाल कला परिषद्को भित्तामा देख्न सकिन्छ ।

सौन्दर्यविद् वीना वैद्य, पाठेघरको अर्वुद चिकित्सक दयालक्ष्मी वैद्य, भारतमा नेपाली भाषालाई मान्यता दिलाउने चन्द्रकला नेवार, स्टन्ट खेलाडी दीक्षा श्रेष्ठ, बौद्धदर्शनमा विद्यावारिधि गर्ने अनोजा, अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो खेलकूद पाउने सविता राजभण्डारी, नेपाल प्रहरीमा कुकुर स्याहार गर्ने देउती गुरुङ, एक्युपञ्चरिष्ट मञ्जु दाहाल, बैंकर रवीना देशराज, एउटा खुट्टाबाट नृत्य गर्ने रोमा न्यौपाने आदिका तस्वीरले पनि दर्शकलाई प्रेरणा र उत्साह दिन्छ । राजनीतिमा ख्यातिप्राप्त दिव्या कोइराला, साधना–सहाना प्रधान, मङ्गलादेवी सिंह, शैलजा आचार्य, विद्यादेवी भण्डारी, सुजाता कोइराला, ओनसरी घर्ती, कमला रोक्का, वीना मगर, रामकुमारी झाँक्री, शान्ता चौधरीलगायतका नयाँ र पुराना तस्वीर पनि प्रदर्शनीमा अटाएका छन् ।

“ हामीसँग करीब ५२० जना महिलाको सूची छ, हामीले दुई वर्षअघिदेखि तस्वीर सङ्कलन ग¥यौँ, धेरै तस्वीर म आफैँले खिंचेको हुँ, कतिपय सम्पर्कमा आए, कति आएनन्, अहिलेलाई यति राख्यौँ, सातै प्रदेश र केही मुख्य शहरमा पनि प्रदर्शनी गर्ने योजना छ, दुई वर्षपछि पुनः यहीँ प्रदर्शनी गर्ने योजना छ”, नेपाल ओलम्पिक सङ्ग्रहालयका अध्यक्ष तथा नेपाल डाटा एण्ड रिसर्च सेण्टरका प्रबन्ध निर्देशक श्रेष्ठले भन्नुभयो ।

महिला विश्वविद्यालय माग
उहाँका अनुसार नेपालमा महिलासँग सम्बन्धित करीब ६५ हजार गैरसरकारी संस्था(काठमाडौँ उपत्यकामा चार हजार)मध्ये करीब सात हजार संस्थासँग तस्वीर सङ्कलनका लागि सम्पर्क गरिएको थियो । महिला मन्त्रालयलगायत धेरै मन्त्रालय र सरकारी गैरसरकारी संस्थासँग महिलाबारे खासै तथ्यतथ्याङ्क नरहेको भोगाइ उहाँको रह्यो । रक्षामन्त्री ईश्वर पोखरेलबाट गरिएको प्रदर्शनी उद्घाटनका दिन नारी दिवस फागुन २४ गते प्रदर्शनीमा तस्वीरमा भएका करीब १००महिलाको उपस्थितिले पनि सङ्ग्रहालयलाई उत्साह दिएको कार्यक्रमका संयोजक मालती बस्नेतले बताउनुभयो ।

“सबै क्षेत्रमा महिलाको बढ्दो सहभागिता र सशक्तीकरण बढ्दैछ, स्थानीय तह, प्रदेश र संसद्मा पनि उल्लेखनीय सङ्ख्या महिलाको छ, तिनलाई अझ बढावा दिन मुलुकमा महिला विश्वविद्यालय स्थापना गर्न पनि हामी प्रस्ताव गर्दछौँ”, फोटो पत्रकार श्रेष्ठले भन्नुभयो । यही फागुन ३० गतेसम्म बिहान ११ देखि साँझ ५ बजेसम्म परिषद्मा ती तस्वीर हेर्न सकिन्छ । रासस

प्रकाशित मिति : March 10, 2018 at 10:24 am