१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मोलुङ हाइड्रोले पुस १९ गतेदेखि आईपीओ निष्कासन गर्ने, क-कसले दिन पाउँछन् आवेदन ?

८ पुस, काठमाडाैं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गते, मंगलबारदेखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे ।  कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा ८ करोड २ लाख २५ हजार रूपैयाँ बराबरकाे ८ लाख २ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ७२ हजार ८ सय ५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४ सय २५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५ सय ७० कित्ता सेयर पनि निष्कासन गर्नेछ ।

आयोजना प्रभावितका लागि निष्कासन गरिने सेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दा र बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँड गरिनेछ ।

स्थानीय तथा वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म का लागि  छिटोमा माघ ३ गतेसम्म र ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने माघ ३ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सननराइज क्यापिटल लिमिटेडले रहेकाे छ । उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १६:५२