२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

१९ वर्षपछि जेलबाट छुटे चार्ल्स शोभराज

८ पुस, काठमाडाैं । सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलमुक्त भएका छन्। सर्वोच्च अदालतको बुधबारको आदेशपछि शोभराज शुक्रबार जेलमुक्त भएका हुन्। १९ वर्षदेखि कैद सजाय काटिरहेका शोभराजलाई सर्वोच्चले  तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश दिएकाे थियाे ।

सर्वोच्चको आदेश अनुसार हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ । भक्तपुर जिल्ला अदालतको फैसलाअनुसार शोभराजलाई २०६० असोज २ देखि २०८० असोज १ गते (२०) वर्षको कैद सजाय सुनाइएको थियो । शोभराजलाई ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा गरिएको हो ।

शोभराजमाथि ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोग लागेको थियो। जेलमुक्त भएका शोभराज अध्यागमनकै निगरानीमा फ्रान्स नगइन्जेल अध्यागमनकै निगरानीमा हुनेछन् । विभागले उनलाई निगरानीमै राखेर जतिसक्दो चाँडो फ्रान्स पठाउने जनाएको छ ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १३:१४