७ असार २०८३, आइतबार | Sun Jun 21 2026

जीवन बीमा क्षेत्रमा सफल मर्जरको इतिहास रच्दै सूर्यज्योति बन्यो अब अझै बृहत्, सबल र विशाल

८ पुस, काठमाडाैं ।  सूर्या लाइफ र ज्योति लाइफ मर्जरपश्चात आज पुस ७ गतेदेखि संयुक्त कारोबारको शुभारम्भ गर्दै एक उज्ज्वल सुरुआत गरेको छ।

गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले आज पुस ७ गते सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन्। सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा कारोबार भएसँगै यो कम्पनीको रजिस्टर्ड कार्यालय विराटनगरमा भएसँगै केन्द्रीय कार्यालय भने काठमाण्डौको ज्ञानेश्वरस्थित शान्ताप्लाजामा हुने तय भएको छ।

कम्पनीको अध्यक्षमा केशवप्रसाद भट्टराई चयन भएका छन् भने प्रकाशविक्रम खत्री प्रमुख कार्यकारी अधिकृत तथा पवनकुमार खड्का नायब प्रमुख कार्यकारी अधिकृत भएका छन्।

मर्जरपश्चात सूर्यज्योतिको कुल चुक्तापुँजी रु. ४ अर्ब ५४ करोड र कुल लगानी रु. २८ अर्बभन्दा बढी पुग्ने पुग्नुका साथै दुई कम्पनीको आ.व. २०७९–८० को पहिलो त्रैमासिकसम्मको कुल जीवन बीमाकोष रु. २२ अर्ब, कुल बीमाशुल्क रु. २ अर्ब २७ करोडभन्दा बढी तथा नाफा भने रु.४२ करोड पुगेको छ।

बीमा क्षेत्रमा सूर्या लाइफले एक दश भन्दा बढी समयदेखि उल्लेखनीय सेवा प्रदान गरी आफूलाई एक बृहत् कम्पनीका रुपमा प्रस्तुत गरिरहेको थियो भने ज्योति लाइफले भने स्थापनादेखि छोटो समयमै विश्वसनीय सेवा दिँदै आफूलाई एक सबल कम्पनीको रुपमा चिनाइरहेको थियो। आजको मितिमा आइपुग्दा कम्पनीको कुल कर्मचारी संख्या करिब ७००, कुल अभिकर्ता संख्या करिब ७५ हजारभन्दा बढी, प्रोडक्ट संख्या १५ सँगै देशभर सात प्रदेशमा १८१ शाखाबाट १३ लाखभन्दा बढी बीमितलाई सेवा दिँदै सूर्यज्योति विशाल कम्पनी भएको छ।

मर्जरका क्रममा देखिएका सम्पूर्ण कठिनाइलाई एकपछि अर्को गर्दै आपसी सहमतिमा टुंग्याउँदै मर्जरपश्चात सूर्यज्योति दोस्रो ठूलो कम्पनी बनेको र हरेक सूचकमा अब्बल रहेको कुरा जानकारी गराउँदै आगमी दिनमा योभन्दा माथि पुग्ने जानकारी दिइएको छ।

सूर्यज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सका रुपमा सेवा प्रदान गरिरहेका दुई कम्पनी ऐतिहासिक सफल मर्जरपश्चात एक बनेर सूर्यज्योति लाइफ अब अझ बृहत्, अझ सबल, अझ विशाल रुपमा बीमा क्षेत्रमा उभिएको जानकारी गराए।

प्रकाशित मिति : December 23, 2022 at 10:12 am