५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

अमेरिकामा अन्धाधुन्धा गोली प्रहारगरी एक नेपालीसहित तीनको हत्या

 

६ असोज,वाशिङ्टन डिसी।  अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् ।

एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको निधन भएको शुक्रबार स्थानीय अधिकारीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका थिए ।

हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको जानकारी दिनुभयो । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौ नेपालीमध्ये एक वृन्दाको गोली लागेर निधन भएको थियो भने अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएका थिए ।

सो घटनामा सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको थियो । आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आउनुभएकी वृन्दाले तीन महीना अगाडि मात्र त्यहाँ काम गर्न थाल्नुभएको उनीहरुको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अमेरिकामा हुने ‘मास सुटिङ’ त्रासदी पूर्ण हुने र यसमा नेपाली पनि पर्नु दुःखद् भएको प्रतिक्रिया दिनुहुँदै अमेरिकाको मूलधारको राजनीतिमा लाग्नुभएका एचवी भण्डारीले शुक्रबार कानूनी प्रक्रिया पूरा गरेर आइतवार सद्गत गर्ने तयारी भएको राससलाई जानकारी दिनुभयो । पर्वतमा जन्मनुभएकी वृन्दाकी आमा तिलकुमारी, दुई दाजुभाइ सरोजकृष्ण र सुमनसमेत मेरिल्याण्डमा नै लामो समयदेखि बस्दै आउनुभएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार ०९:२१