१० असार २०८३, बुधबार | Wed Jun 24 2026

मलेसियामा विषाक्त किंगफिसर बियर खाँदा अर्का एक नेपालीको पनि मृत्यु

५ असोज, काठमाडाैँ ।  किंगफिसर बियर,  मण्डले ह्विस्की र  ग्राण्ड रोयल ह्विस्की खाँदा मलेसियामा २० जनाको ज्यान गएको छ । विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ ।

विषाक्त मदिरा सेवनबाट बसेरी धादिङका मीमबहादुर घले, मसिना रुपन्देहीका रामकुमार यादव, अमरगढी डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का इलामका बलबहादुर कुलुङ्ग र पथ्थरकोट सर्लाहीका आइतसिंह गोलेको मृत्यु भएको दूतावासले जनाएको छ । मृतकको शव मलेसियाका विभिन्न अस्पतालमा राखिएको छ ।

विषाक्त मदिरा सेवनबाट १७ जना गम्भीर बिरामी परेका थिए । उनीहरुमध्ये १२ को क्वालालम्पुरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने पाँच जना उपचारपश्चात घर फर्किसकेका छन् । सिद्धकाली सङ्खुवासभाका लुङ्गनाथ मगर, रानीचुरी सिन्धुलीका जीतबहादुर माझी, मैनापोखर बर्दियाका प्रवीन थारु, महेन्द्रनगर सुनसरीका दुर्गाबहादुर राई र राङ्सी रोल्पाका भागीमान डाँगी उपचारपश्चात कम्पनीमा फर्किसकेका छन् ।

दूतावासका अनुसार रघुनाथपुर बाराका राधेश्याम बैठा, फरेना रुपन्देहीका रामचन्द्र लोध, च्याङ्ली गोरखाका लोकबहादुर बराम, चोकामागु पाँचथरका सेतवीर तुम्बाप्तो, बाबियाविर्ता, मोरङका जम्बिरलाला झाँगड, सुङ्देल, खोटाङका चम्पावति राई, धुलिखेल काभ्रेपलाञ्चोकका चन्द्रसिं तामाङ, ढुङ्ग्रेखोला सर्लाहीका रिकामान स्याङ्ताङ, ठेगाना नखुलेकी सकुवल घिसिङ, राजेशकुमार हजारी, बिमल कार्की र दातेबहादुर सारु मगरको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

–किंगफिसर बियर खाँदा मलेसियामा १९ जनाको मृत्यु, धादिङका घलेसहित तीन नेपालीको सनाखत

प्रकाशित मिति : September 21, 2018 at 9:00 pm