२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

‘छेमडोल अड्डा’ आज ललितपुर महानगर बनेको छ, यसको इतिहास गौरवपूर्ण छ: प्रधानमन्त्री देउवा

२ पुस, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको इतिहास गौरवपूर्ण भएको बताउनुभएको छ । ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसको अवसरमा आज महानगर परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, “अनुपम कला नगरीको रुपमा परिचित यस नगरको सरसफाईलगायत काम गर्न १९७५ पुस २ गते ‘छेमडोल अड्डा’को नामबाट सञ्चालन भएको कार्यालय आज महानगरपालिकाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । त्यसैले यसको इतिहास गौरवपूर्ण छ ।”

उपत्यकाको पुरानो र मौलिकतासहितको ललितपुर सहर महानगरपालिका बनेपछि व्यवस्थित विकाससहित नगरवासीको जीवनलाई सहज र गुणस्तरीय बनाउने योजनासहित अघि बढेको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक कला नगरी, उपत्यकाकै जेठो महानगरपालिका स्थापनाको एक सय चार वर्षमा प्रवेश गरेको सुखद अवसरमा महानगरवासी, जनप्रतिनिधिलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उहाँले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार १५:५४