२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

२८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बुधबार युवराज पौडेलले लामिछानेको नागरिकता विवाद र सांसद पदको सम्बन्धमा सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

उनले संवैधानिक इजलासमा दायर गरेको रिटमा लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ । लामिछानेले विदेशी नागरिकता लिएर नेपाली नागरिकता नत्यागेको, विदेशी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको, पुरानै नागरिकताका आधारमा उम्मेदवारी दिएको, विदेशी पासपोर्ट नत्यागी नेपाली पासपोर्ट लिएको भन्दै विवाद बढीरहेकाे छ ।

उनले अमेरिकी नागरिकता लिँदा निष्क्रिय भएको नेपाली नागरिकता सक्रिय बनाउन कानुनी प्रक्रियामै नगएको यसअघि नै स्विकारिसकेका छन्। नागरिकताकाे बिषयलाइ लिएर यसअघि उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग र गृह मन्त्रालयमा पनि उजुरी परेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १५:०१