२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एकनाथबारे भीम रावल भन्छनः एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको सांसद, क्या चमत्कार !

२५ मंसिर, काठमाडौं । एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् ।

एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन् । ढकाललाई सा‌ंसदमा सिफारिस गरेपछि एमालेभित्रै विराेध भइरहेकाे छ ।

यसबारे सामाजिक सञ्जाल ट्वीटरमा भीम रावलले लेखेका छन् :

अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको छ ।

परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाको सदस्य, क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी ! स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १७:०१