५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

भ्रष्टाचारीलार्इ निर्मम प्रहार गर्ने अख्तियार प्रमुख घिमिरेको घोषणा, भ्रष्टहरूको घाँटी निमोठ्ने संकेत

४ असोज, काठमाडाैँ । अख्तियार दुरूपयोग अनुसन्धान अायोगका प्रमुख अायुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारीलार्इ निर्मम प्रहार गर्ने प्रतिवद्धता जनाएका छन । अायोगको प्रमुखमा नियुक्त भएर सपथ ग्रहणपछि बिहीबार पदभार ग्रहण गर्दै प्रमुख अायुक्त घिमिरेले भ्रष्टहरूको घाँटी निमोठ्ने संकेत गरेका हुन ।

प्रमुख अायुक्त घिमिरेले राज्यको सामाजिक पद्धतिको उपपद्धतिको रूपमा स्थापित भ्रष्टाचारलाई निर्मम प्रहार गर्नसक्ने क्षमता र अठोट आफूमा रहेको बताए । उनले यस्तो कार्यमा आयोगका आयुक्तहरू लगायत सबै कर्मचारीहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रमुख अायुक्त घिमिरेले आयोगलाई विगतको आरोह–अवरोहको अवस्थाबाट नेपाली जनताले भरोसा र विश्वास गर्नसक्ने व्यावसायिक तथा प्रतिवद्ध संस्थाका रूपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

आयोगले आगामी दिनमा आफ्नो कार्यसम्पादन गर्दा नियति र प्रवृत्तिबाट निर्देशित नभई नीति र पद्धतिबाट चल्नुपर्ने, तटस्थता र प्रतिवद्धता बीचको द्वन्द्वको कुशल व्यवस्थापन गर्नुपर्ने, कुनै व्यक्ति वा संस्थाप्रति आग्रह पूर्वाग्रह नराखी अवैयक्तिक ढंगबाट कार्यसम्पादन गर्नुपर्ने जस्ता प्रमुख मार्गदर्शन सिद्धान्तको पालना गर्ने प्रतिवद्धता नवनियुक्त प्रमुख आयुक्तज्यूले गरे ।

राज्यले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्न र आयोगलाई नमूना संस्थाका रूपमा विकास गरी संस्थाको कार्यप्रति कसैले प्रश्न उठाउन नपाउने गरी मुलुक र जनताप्रति इमान्दारी र निष्ठापूर्वक काम गर्ने बताए ।   

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार २२:१७