२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

गुरूमा र कर्मचारीलाई सांसद बनाउन उपलब्धिको दुरुपयोग गरिएको भन्दै गणेश कार्कीले छाडे रास्वपा

२४ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं समाजिक सञ्जालमा रवि लामिछानेका लागि माहोल सिर्जना गर्नेमध्येका एक गणेश कार्कीले पार्टी परित्याग गरेका छन । उनले समानुपातिक सांसद चयनको विषयमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका हुन ।

उनले समाजिक सञ्जालमा एक टिप्पणी राख्दै उनले पार्टी परित्यागकै शब्द प्रयोग नगरेको भए पनि मत र उपलब्धिको दुरूपयोग गरिएको बताएका छन । उनी समानुपातिकको सांसदमा नछानिएिछि आक्रोशित हुँदै अहिलेसम्मको यात्रा रमाइलो भएको र आगामी दिनमा यो अभियानमा नरहने संकेतसहित उनले भनेका छन, ‘रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईको व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्नुहोला ।’

उनको टिप्पणी यस्तो छ

म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।

किनभने, १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो । म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दिपक बोहोरा तेस्रो नम्बरमा थियौँ । समावेशी र आरक्षणको बिषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरि महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यहि हो । बिधी त्यहि हो । त्यहि अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो । यसैले मेरो र दिपकजीको सांसद हुने पक्कापक्की नै हो । तर आफ्नालाई काखी च्यापियो ।

जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।

अन्त्यमा, रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईको व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्नुहोला । पुनश्च : फोन, म्यासेज, ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असिम सम्मान छ । अलग अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ । पुन: पुनश्च : माथिका कुनै पनि आरोप होइनन् । खोज्नु होला । प्रमाणित हुन्छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार २१:४६