४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

काठमाडौं ओपनमा रबिलाई उछिन्दै भुवन शीर्षस्थानमा


२३ मंसिर, काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन भुवन नगरकोटी शीर्षस्थानमा उक्लिएका छन्। १-अन्डर ६७ को स्कोरमा समग्रमा १०-अन्डर १ सय ९४ सहित शीर्षस्थानमा उक्लन सफल भएका हुन्। दुई दिनका लिडर रबि खड्काले बिर्सनलायक प्रदर्शन गर्दा भुवनको उपाधि होड निकै मजबुत बनेको छ। भुवनले रबि र शुक्र बहादुर राईलाई अन्तिम १८ होलको खेल बाकी छदा नौ स्ट्रोकले पछि पारेका छन्।

शुक्रले १-अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए। रबिले ९-ओभर ७७ को खराब प्रदर्शन गरे। दुवैजना समग्रमा १-अन्डर २ सय ३ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थानमा छन्। धन बहादुर थापा, दिनेश प्रजापति र कृष्णमान राजबाहक समग्रमा १-ओभर २ सय ५ का साथ संयुक्तरुपमा चौथो स्थानमा रहेका छन्।

धनले ३-अन्डर ६५, दिनेशले २-अन्डर ६६ र कृष्णमानले इभन-पार ६८ मा खेल सकाए। ३-ओभर ७१ को नतिजा सहित प्रदीप कुमार लामा समग्रमा ३-ओभर २ सय ७ सहित सातौ स्थानमा छन्। रमेश अधिकारी र सुर्य प्रसाद शर्माले समग्रमा ४-ओभर २ सय ८ को नतिजामा संयुक्तरुपमा आठौ स्थान बाडे।

३६ होलको समाप्तीमा भुवन मात्र एक स्ट्रोकले पछि थिए।‌ तर तेस्रो दिन १-अन्डर ६७ को स्कोर बनाउदा उनले नौ स्ट्रोकलो अग्रता बनाए। दोस्रो होलमा बोगी खेपे पनि चौथो र आठौ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि १२ औ, १३ औ र १७ औ होलमा एक-एक सट बचाउदा १० औ, १५ औ र १८ औ होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा सकाए।

भुवनले नौ स्ट्रोकको अग्रता बनाउनुको प्रमुख कारण रविको खराब प्रदर्शन नै हो। उनले ९-ओभर ७७ को अत्यन्त खराब खेल खेले। दोस्रो, चौथो, छैटौ र नवौ होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन ४-ओभर ३८ मा पुरा गरे। यसपछि पनि सम्हालिन सकेनन्। १० औ र १८ औ होलमा डबल बोगीको सामना मात्र गरेनन ११ औ र १६ औ होलमा एक-एक सट खेर फाले। १३ औ होलमा एक सट बचाए पनि ब्याक नाइन ५-ओभर ३९ मा सकाए।

शुक्र बहादुर राईले १-अन्डर ६७ को नतिजामा दोस्रो स्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे। उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गरे। ब्याक नाइनको सुरूवातमा नै डबल बोगी प्रहार गरे। १३ औ होलको बर्डीले १-ओभर ३५ मा ब्याक नाइनको खेल सकाए।

एमेच्योरतर्फ समग्रमा ११-ओभर २ सय १५ को नतिजामा अजित बिके शीर्षस्थानमा छन्। आज उनले ५-ओभर ७३ मा खेल सकाए। समग्रमा २ सय ३३ अंक जोडेका प्रज्वल गुरुङ दोस्रो स्थानमा छन्।

कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार ११:१७