५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

बन्दको अवज्ञा गरेको भन्दै सवारी चालकले आफ्नै सहकर्मीलाई धादिङको सिम्लेमा यसरी लगाए जुत्ताको माला

४ असोज, काठमाडौं । बन्दको अवज्ञा गरेको भन्दै सवारी चालकले यात्रुसहितका सवारी साधनलाई रोकी आफ्नै सहकर्मीलाई जुत्ताको  माला लगाएका छन् ।   मुलुकी संहिताको विरोधमा भएकाे  आन्दोलनमा सवारी चालकहरुले नै बन्दको अवज्ञा गरेकोले मानमर्दन गरी आफ्नै सहकर्मीहरुलाई जुत्ताको माला लगाएका हुन् ।

बन्दका कारण विभिन्न जिल्लामा सार्वजनिक यातायातका साधनहरु निकै कम चलेका छन् । सडकका गुडेका सवारीहरुलाई रोक्ने र विभिन्न ठाउँमा जुत्ताको माला लगाएर मानमर्दन गर्ने काम भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ ।

आन्दोलनकारीले धादिङको सिम्ले, झापाको विर्तामोड, कपिलवस्तुको चन्द्राैटा, महोत्तरीको वर्दिवास, बारा, पर्सा लगायतका जिल्लाहरुमा  चालकलाई जुत्ताको माला लगाएका हुन् । पूर्वघोषित कार्यक्रम सवारीको चाबी बुझाउने भएपनि चालकलाई कालोमोसो, जुत्ताको माला लगाउने जस्ता गतिविधिमा उत्रिएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव नवराज घिमिरेले मजदुरलाई कसैले भड्काएको हुनसक्ने बताए । मुलुकी अपराध संहिता र यातायात व्यवस्था ऐन २०४९ मा भएको संशोधनमा दुर्घटनामा कसैको मृत्यु भए चालकलाई ५ देखि १२ वर्ष कैदको व्यवस्था भएको भनी झुटो प्रयास भएको उनले बताए । ‘निर्दोष चालकहरु जेल गइहाल्नु पर्ने अवस्था नभएपनि  ऐनमा नभएको कुरा प्रचार गरेर मजदुरहरुलाई भड्काएकाे उनले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार १९:१९