२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

२१ मंसिर, डडेलधुरा । यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन्।

निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाएका छन्। निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै डडेल्धुराका उम्मेदवारले खर्च विवरण बुझाउन थालेका हुन्।

प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेस गरेका हुन्। उनले निर्वाचनमा २६ लाख १२ हजार रूपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका सहसचिव महरले जानकारी दिए।

प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा उक्त खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको उनले बताए।

यस्तै नेपाली कांग्रेस (बिपी) का उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख आठ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले एक लाख १६ हजार, विक्रमबहादुर शाहीले दुई लाख दुई हजार एक सय ९० र राप्रपा उम्मेदवार गोविन्द खडायतले चार लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन्।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार डडेलधुरामा प्रतिनिधि सभातर्फ ३१ लाख, प्रदेश सभा (१) का लागि २१ लाख र प्रदेश सभा ९२० का लागि १९ लाख खर्चको सीमा तोकिएको थियो।

एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभामा आठ र दुइटा प्रदेश सभामा १२ गरी २० उम्मेदवार थिए। उनीहरूमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेको निर्वाचन अधिकारी अवस्थीले जानकारी दिए।

उनका अनुसार मंगलबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले पनि चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत बुझाएका जानकारी दिए।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १०:०८