२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

समानुपातिकको मतगणना सकियो, एमालेले ३४ सिट पाउँदा नेकपा एस राष्ट्रिय दल नबन्ने

२१ मंसिर, काठमाडाैं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएका कुन दलले कति सिट पाउने भए भन्ने सबैकाे चासोकाे बिषय बनेकाे छ ।

नेकपा (एमाले), नेपाली काँग्रेस , नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी  र जनमत पार्टीले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ करिव १ करोड ९ लाख मत खसेकोमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ ।

नेकपा एमालेले सबैभन्दा धेरै २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ भने नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत पाएकाे छ। नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गरेको छ।आज आयोगले समानुपातिकतर्फ कुन दलले कति सिट प्राप्त गरेको हो भन्नेबारे घोषणा गर्ने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए ।

समानुपातिक मतअनुसार सबैभन्दा धेरै नेकपा एमालेले सांसद पाउने देखिन्छ। एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमतले ५ सिट पाउने भएका छन्। नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेमकिपा राष्ट्रिय पार्टी बन्न सकेनन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार ०९:५२