२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

पाँच दलीय गठबन्धन तोड्ने माओवादीको संकेत, सरकार गठनका लागि सबै दल र पक्षसँग संवाद गर्ने

१७ मंसिर, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले पाँच दलीय गठबन्धन तोड्ने संकेत गरेको छ । नेपाली कांग्रेसले सरकारको नेतृत्वको दाबी नछाडेपछि माओवादीले यस्तो संकेत गरेको हो । माओवादीले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्दै त्यसका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय गरेको उनले बताए ।

अहिलेको गठबन्धन नतोड्ने तर सरकार निर्माणमा अन्य दलसँग पनि छलफल गर्ने विकल्पमा खुला रहने निर्णय भएको महराले बताए । महराले बताए अनुसारको पहल माओवादीले व्यवहारमै गरेर बहुमत जुटाउने प्रयास गरे पाँच दलीय गठबन्धन टुक्रिने सम्भावना छ । कांग्रेसमा सरकारको नेतृत्वको नछाड्न तीव्र दबाब रहेको छ ।

माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाल दाहाललाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको उनको भनाइ छ ।

बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए । चुनावी परिणाम र सरकार निर्माणमा केन्द्रित छलफलले आइतबार पनि निरन्तरता पाउने भएको छ । पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे बोलाइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार १९:३६