२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुरामा रोकियो मतगणना

१६ मंसिर, कैलाली । बाजुरामा मतगणना रोकिएको छ । निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएकाे हो ।

बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणना गर्ने क्रममा मुचुल्का भन्दा ४० बढी मत पाइएको थियो ।

मुचुल्काको मत भन्दा बढी मत भेटिएपछि प्रतिनिधि सभा तर्फको मत गणना रोकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए । अहिले उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको उनले बताए ।

यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् । अहिले सम्म पाण्डेले १ हजार २६९ मतको अग्रता बनाइरहेका छन् । पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत ल्याएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार १०:१८