१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मंसिर २३ बाट आईपीओ निष्काशन गर्दै माया खोला हाइड्रोपावर

१४ मंसिर, काठमाडाैं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ लाख कित्ता साधारण सेयरमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता स्थानीय र सर्वसाधारणका लागि जारी हुने बाँकी २४ लाख कित्तामध्ये १० प्रतिशत अर्थात २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्न लागेको हो।

उक्त आईपीओमा आयोजनाबाट अतिप्रभावित संखुवासभा जिल्लाको चैनपुर–८ र ९, धर्मादेवी ३, ४ र ५, मादी–४ र ६ का लागि बासिन्दाका लागि ६ लाख कित्ता तथा प्रभावित क्षेत्र संखुवासभा जिल्लाको चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका अन्य क्षेत्रका स्थानीयका लागि ४ लाख कित्ता छुट्याएको छ।

साे आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक राेजगारीमा गएका नेपाली लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । स्थानीयका लागि जारी आईपीओ छिटोमा पुस ८ गतेसम्म साे अवधिमा आवेदन नपरेमा पुस २४ गतेसम्म भर्न पाइने छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस ८ गतेसम्म आवेदन दिनुपर्ने छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछ। वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार ०९:३७