२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

समयक्रममा समिक्षा हुन्छ, प्रतिकूल परिणामको जिम्मेवारी लिन्छुः बद्री मैनाली

९ मंसिर, नुवाकोट । नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले चुनावी परिणामको बारेमा समयक्रममा समिक्षा हुने बताएका छन । शुक्रबार नुवाकोट १ मा प्रतिनिधिसभा निर्वाचनमा पराजय पछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै अध्यक्ष मैनालीले चुनावी पराजयको समयक्रममा समिक्षा हुने बताउँदै प्रतिकूल परिणामको जिम्मेवारी आफैँले लिने बताएका छन । यस्तो छ मैनालीको टिप्पणी ।

२०७९/ ०८/०९
धन्यवाद तथा आभार ।
शान्ति पुर्वक सम्पनहुनगई रहेको प्रतिनिधिसभा निर्वाचनमा मप्रति व्यक्त गर्नुभएको माया, सद्भाव र अमूल्य मतका लागि नुवाकोट १ का आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । निर्वाचन अभियानका क्रममा प्राप्त वृद्ध बुवाआमाहरुको आशीर्वाद, युवाहरुको उर्जा र कलिला नानीहरुका आँखामा प्रतिविम्बित निश्छल माया , बैशाखी टेकेर र अरूको सहारा लिएर भए पनि मतदान केन्द्रमा आई भोट हाल्नु हुने अपाङ्गता भएका व्यक्तिहरूको अवर्णनीय विश्वास मेरा निम्ति हमेशा प्रेरणाका स्रोत बनिरहने छन् ।

गएको महिनादेखि सफलताको एक मात्र सङ्कल्प बोकेर निर्वाचनमा खटिने पार्टी कमरेडहरु, घर दैलो गर्नुहुने आमा दिदीबहिनी, दाजुभाईहरु ,सम्पुर्ण शुभचिन्तकहरु ,देश र बिदेशबाट आएर अभियान जोडिनु हुने साथिहरु मत दिनकै लागि प्रवासबाट समेत आइपुग्नुभएका प्रियजनहरु, कलाकार मित्रहरु र स्वयंसेवक साथीहरु सबैप्रति कृतज्ञ छु । सशरीर नुवाकोट उपस्थित हुन नसके पनि विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नु हुने एवं प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु । अभियानको व्यापक कभरेजका लागि सबै सञ्चारकर्मीहरु र निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।

अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । निर्वाचनमा गएपछि हारजित स्वभाविक प्रक्रिया हो धैर्यता र हौसल्ला राख्न निराशा नहुन सम्पुर्ण कार्यकर्ता शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछु।तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समिक्षा हुने नै छ ।

ओराली र उकाली यात्राका अभिन्न अङ्ग हुन् भने सफलता र विफलता जिन्दगीका अविभाज्य हिस्सा। म संसद भवन भित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रति ममा कुनै सन्देह छैन। यस परिणामलाई मैले स्थितप्रज्ञ भावले ग्रहण गरेको छु।

वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहे पनि तपाईंको मनको प्रतिनिधिका रुपमा दुःख सुखका हरेक पलमा तपाईंहरुले मलाई आफ्नो साथमा पाउनु हुनेछ । मेरो सिङ्गो जीवन राष्ट्र र जनताको हित, समाज सेवा र जिल्लाको समग्र विकास र जिल्लावासीहरुको सेवामा समर्पित हुने छ । प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित हुनुभएकोमा सत्ता गठबन्धनका उम्मेदवार हित बहादुर तमाङग हार्दिक वधाइ र सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।धन्यवाद ।

बद्रि मैनाली
प्रत्यासि उम्मेदवार नुवाकोट क्षेत्र नं(१)

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार २०:२१