२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

यी शीर्ष नेता जसले जनताको मन जित्न सकेनन्

९ मंसिर, काठमाडाैँ । हालसम्म दुई ठूला कम्युनिष्ट पार्टीका महासचिव निर्वाचनमा पराजित भएका छन् । एमालेका महासचिव शङ्कर पोखरेल माओवादी उम्मेदवार रेखा शर्मासँग पराजित हुनुभयो भने माओवादीका महासचिव देवप्रसाद गुरुङलाई एमाले उम्मेदवार पृथ्वी सुब्बा गुरुङले पराजित गर्नुभयो । माओवादीका उपमहासचिव पम्फा भुसाल र सचिव चक्रपाणि खनाल पनि यस निर्वाचनमा पराजित हुनुभयो । यसैगरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव लेखराज भट्ट पनि पराजित हुनुभयो ।

कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) निर्वाचनमा पराजित हुनुभयो । आफ्नो गृहजिल्ला छाडेर अर्को जिल्लामा निर्वाचनमा विजयी हुनेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ, कांग्रेसका प्रदीप पौडेल र वीरबहादुर बलायर, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनुहुन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका उपमहासचिव वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने २५ हजार बढी मतान्तरहित विजयी हुनुभएको छ । ओलीले आफ्ना प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीलाई २८ हजार पाँच सय ७६ मतले पराजित गर्नुभयो । पुनले पूर्ण बुढा मगरलाई २५ हजार दुई सय ३९ मतले पछि पारी विजयी हुनुभयो । त्यस्तै रास्वपाका अध्यक्ष लामिछानेले निकटतम् प्रतिद्वन्द्वी उमेश श्रेष्ठभन्दा ३४ हजार तीन सय १२ बढी मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १७:५५