बागलुङमा मतगणनाको तयारी
५ मंसिर, बागलुङ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाको तयारी थालिएको छ । सबै मतदानस्थलको मतपेटिका मतगणनास्थलसम्म आइपुगेकाले मतगणनाको तयारी थालिएको हो ।
राति अबेरसम्म जिल्लाका सबै मतदानस्थलको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा आइसकेको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिनुभयो । उहाँ अनुसार सर्वदलीय बैठक पछि मतगणना थालिने छ ।
“राति अबेर मात्रै मतपेटिका ल्याइयो, सर्कुवाको मतदानस्थलमा केहीबेर मतदान स्थगित हुँदा केही ढिला भएको छ भने केही विवाद सर्वदीलय बैठकबाट मिलाएपछि गणना सुरु हुन्छ”, उहाँले भन्नुभयो, “निर्वाचन निकै शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ, सबैको सहयोगको प्रशंसा गर्दछु ।” दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल ५३ दशमलव ५६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।
कूल एक लाख ९२ हजार दुई सय २७ मतदाता रहेको जिल्लामा एक लाख दुई हजार नौ सय ६३ मत खसेको थियो । निर्वाचन क्षेत्र नम्बर १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ बजारस्थित जिल्ला समन्वय समितिको सभाहल र क्षेत्र नम्बर २ को मतगणना निर्वाचन अधिकृतको कार्यालय बुर्तिवाङस्थित नयाँ सहरी विकास आयोजनाको सभाहलमा हुनेछ । जिल्लाको दुई प्रतिनिधि र चार प्रदेशसभा सदस्यका लागि ३१ चुनावी मैदानमा छन् ।
प्रकाशित मिति : November 21, 2022 at 9:30 am









