२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमालेले राज्य र जनताको आम्दानी बढाउन थुप्रै कार्यक्रम अघि सारेको छः शंकर पोख्रेल

३० कार्तिक, दाङ । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले एमालेले सामाजिक न्यायमा आधारित लोककल्याणकारी राज्य निर्माणको योजना अघि सारेको बताएका छन् । रुकुम–दाङ सम्पर्क समूहले घोराहीमा आयोजना गरेको उम्मेदवार भेटघाट तथा चुनावी अभियान कार्यक्रममा महासचिव पोख्रेलले लोककल्याणकारी राज्य निर्माणका लागि २० ग्यारेन्टीसहितका कार्यक्रम अघि सारिएको बताए।

२०५१ मै मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले एक सय रुपियाँबाट सुरु गरेको वृद्धभत्ता अहिले चार हजार पुर्याएका छौं, एकल महिला, अपाङ्गता भएका हुँदै सुत्केरी भत्तासम्म उपलव्ध गरायौं महासचिव पोख्रेलले भने– ‘अव एमालेको सरकार बन्छ र हरेक महिलालाई महिनावारी भत्ता कार्यक्रम ल्याउँदैछौं । महिनावारी समस्याका कारण हुने पाठेघरको समस्या रोक्न हरेक वर्ष एकमुष्ठ एक हजार पाँच सय रुपियाँ खातामै राखिदिने छौं ।

महासचिव पोख्रेलले गरिव परिवारका लागि विजुली र खानेपानी पनि निःशुल्क गरिदिने बताए । पाँच वर्षमा गर्ने २० ग्यारेन्टीबारे उल्लेख गर्दै पोख्रेलले भने– ‘गरिव परिवारको घरमा पनि विजुली पुर्याउँछौं अनि हिउँदा ३० युनिट र वर्षामा ५० युनिटसम्मको विद्युत निःशुल्क उपलव्ध गराउँछौं । त्यस्तै हरेक घरमा धारा पुर्याउँछौं र पानी पनि निःशुल्क उपलव्ध गराउँछौं ।’

प्रतिनिधिसभा सदस्य उम्मेदवार पोख्रेलले त्यसका लागि एमाले सरकार बन्न जरुरी रहेको बताए । उनले एमालेले राज्य र जनताको आम्दानी बढाउन थुप्रै कार्यक्रम अघि सारेको बताए । जनताको समृद्धि, सामाजिक सुरक्षा र आधारभूत आवश्यकता पूर्तिको काम राज्यले गर्ने भन्दै पोख्रेलले राष्ट्रिय प्राथमिकताका विषयलाई पनि महत्वकासाथ अघि सारेको उल्लेख गरे ।

प्राथमिकताका पाँच क्षेत्रबारे बोल्दै महासचिव पोख्रेलले भने– राष्ट्रिय स्वाधिनताको रक्षा, सामाजिक न्यायमा आधारित लोक कल्याणकारी राज्य निर्माण, सुशासन र प्रविधियुक्त विकास तथा विद्युतीय शासन व्यवस्था र समाजवाद उन्मुख कार्यक्रमलगायत समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेको प्राथमिकताका विषय हुन् ।

एमाले सरकार ढलेपछि बनेको सरकारले झन् अव्यवस्था, बेथिति, भ्रष्टाचार र कुशासन मौलाएको भन्दै मंसिर ४ पछि जनादेशको सरकार बनाउनुपर्ने बताए ।

यसैगरी महासचिव पोख्रेलले बंगलाचुलीमा आयोजित कार्यक्रममा गठबन्धन सरकारले देशको अर्थतन्त्र कमजोर बनाएको, विकासका काम ठप्प पारेको र देश विगार्ने काम मात्र गरेको बताए । उनले देश बनाउनका लागि एमालेको सरकार बन्नु जरुरी रहेकाे बताए । महासचिव पोख्रेलले प्रतिनिधि सभामा ४२ सिटमा उम्मेदवारी दिएको माओवादी निर्वाचनपछि फुच्चे पार्टीमा दरिने र विस्तारै देशको राजनीतिबाट किनारा लाइने जनाए ।

माओवादी नेताहरूले हिजो जनतालाई देखाएका ठूला सपना एमालेले पूरा गर्ने बताउँदै भविष्य नभएको पार्टीमा नलाग्न र एमालेमा आउन महासचिव पोख्रेलले आग्रह गरे । माओवादीले पहिले सशस्त्र द्वन्द्वबाट मुलुकलाई कमजोर बनायो, अहिले सरकारमा रहेर अर्थतन्त्र ध्वस्त पारेर कमजोर पारिरहेको उनको भनाई थियो ।

हिजो शेरबहादुर देउवालाई देखाएर सोधा सिधा जनतालाई बन्दुक बोकाएको माओवादी नेतृत्वले आज उनै शेरबहादुरलाई प्रधानमन्त्रीका रुपमा बोकिरहेको वताउँदै महासचिव पोख्रेलले भने– ‘प्रचण्ड र देउवा पहिले नै मिलेको भए १७ हजारको ज्यान जोगिन्थ्यो होला नि ! तिनका परिवारका सदस्य, आफन्तहरूले के भन्छन् होला ?’

प्रकाशित मिति : November 16, 2022 at 10:24 am