२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

एमालेलाई सिध्याउन खोज्नेहरू मंसिर ४ पछि आफै सिद्धिने छन्ः अध्यक्ष ओली

२५ कार्तिक, काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय नेकपा (एमाले) लाई सिध्याउन निकै प्रयास भए पनि यसको गौरवपूर्ण इतिहास, बलियो संगठन र जनताको मायाका कारण त्यो दुष्प्रयास सफल नभएको बताएका छन् । अध्यक्ष ओलीले एमालेलाई भित्तामा पुर्याउँछौं, दिउँसै टर्च बालेर खोज्ने गरी सिध्याउँछौं भन्नेहरूको चाहना पूरा हुन नसकेको बताए ।

सुनसरी निर्वाचन क्षेत्र नं. १ को धरानमा आज आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– ‘हुँडारको शैलीमा एमालेलाई चारैतिरबाट आक्रमण गरेर सिध्याउन खोज्नेहरू त्यसमा असफल भए । ‘बाघ, भालुलगायत हिंश्रक जनावरले पहिले मार्छन्, अनिमात्र खान्छन् तर हुँडारको जत्थाले शिकार गर्दा चारैतिरबाट ज्यूँदै टोकेर खाने गर्छ’ चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘गठबन्धन त्यसैगरी एमालेलाई टोकेर सिध्याउन खोज्ने हुँडारको जत्था हो ।’

नेपालको बामपन्थी आन्दोलनलाई अत्यन्त बलियो बनाउने कदमका रुपमा आफूले माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेको स्मरण गर्दै अध्यक्ष ओलीले विदेशीका लागि कम्फर्टेवल सरकार बनाइदिने नीति, उद्देश्य बोकेका व्यक्तिहरुका कारण त्यो कदम सफल नभएको स्पष्ट गरे ।

उनले भने– ‘जङ्गलमा एउटा स्याल कराउँदा वित्तिकै सुनेपछि अर्को स्याल जतिसुकै अफ्ठ्यारो अवस्थामा भए पनि कराउँछ । त्यसैगरी पार्टीभित्र ठाडो घाँटी लगाएर कराउनेको जमात निस्क्यो । मलाई अल्पमतमा छ भन्ने ठान्यो र पार्टी कब्जा गर्नुपर्छ भनेर लाग्यो । विभिन्न आरोप लगायो । महाधिवेशनबाट अध्यक्ष निर्वाचित मलाई सडकबाट नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्काशनको निर्णय सुनाए ।’

यो सबै पार्टी सिध्याउने दक्षिणपन्थी प्रतिक्रियावादी षडयन्त्र भएको वताउँदै अध्यक्ष ओलीले नेपालको सम्पूर्ण राजनीतिक जागरणसँग जोडिएको एमालेलाई कसैले समाप्त नसक्ने बताए ।  नेकपा एमाले वैचारिक, सांगठानिक, राजनीतिक परिवर्तनका लागि गरेको सङ्घर्ष सबै हिसावले राष्ट्रिय राजनीतिको सदैव मूलधार भएको बताउँदै अध्यक्ष ओलीले भने– ‘एमालेलाई भत्काउने प्रयासमा जो–जो लागे उनीहरूले गल्ती गरे ।’

अध्यक्ष ओलीले एमालेलाई सिद्धयाउन खोज्नेहरू मंसिर ४ पछि आफै सिद्धिने बताए । एमाले बाहेक अरु पार्टीसँग देश बनाउने भिजन नभएको भन्दै उनले नेपाली काँग्रेसले एमालेसँग एक्लै लड्न नसकेर गठबन्धन गरेको बताए । अध्यक्ष ओलीले पार्टी निर्णयविरुद्ध उम्मेदवारी दिएकाहरूलाई एमालेका मतदाताले भोट नदिने प्रस्ट पारे ।

‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला,’ सुनसरी क्षेत्र नं. १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने– ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने ?’ अध्यक्ष ओलीले कार्यकर्तालाई मतपेटीकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिए ।

अध्यक्ष ओलीले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनः सम्भावना सुरु भएको बताए ।
एमाले–जसपा तालमेलबाट सुनसरी १ मा प्रतिनिधि सभाका उम्मेदवार बनेका राई एमालेमा हुँदा पटकपटक मन्त्री भएको बताउँदै अध्यक्ष ओलीले अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : 16:32