नेपाली काँग्रेसका १ सयबढी नेताकार्यकर्ता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत
२४ कार्तिक, झापा । नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि धनेन्द्रराज योङ्यासहित एकसयभन्दा बढी नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । झापा निर्वाचन क्षेत्र नं. ५ बाट नेता योङ्यासहित नेपाली काँग्रेसका क्षेत्रीय सदस्य मोहनकुमार कार्की, पूर्व सदस्य बलभद्र कोइराला, लीला चुँडाल कार्की, युवती ठाकुर, प्रदीप ढकाल, कबिर प्रसाईं लगायत एकसय जना स्थानीय नेताकार्यकर्ता आज एमालेमा प्रवेश गरेका हुन् ।
झापा निर्वाचन क्षेत्र नं. ५ को दमकमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले खादा र अवीर लगाई पार्टीमा स्वागत गरे ।सोही कार्यक्रमा हाडजोर्नी विशेषज्ञ डा. डिल्ली रिजाल , डा. अरुण कुमार साह पनि एमालेमा प्रवेश गरे ।

कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष ओलीले नवप्रवेशी साथीहरु परिवारका सदस्य भइसकेको र उनीहरु कसैलाई पनि भेदभाव, पक्षपात नभई समान व्यवहार, जिम्मेवारी अवसर दिइने बताए ।
अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि नेकपा बनेको र भुलवश माओवादी र एकीकृत समाजवादीमा लाग्नुभएका त्यसका नेताकार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरे ।

अध्यक्ष ओलीले देश बनाउने अभियानमा लाग्ने हो भने एमालेमा आउन आग्रह गर्दै अन्य दलहरु नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीमा बसिरहनुपर्ने आवश्यक नरहेकाे जनाए ।
अध्यक्ष ओलीले एमालेलाई सिध्याउने खेलका रुपमा नेकपा एस बनाईएको उल्लेख गर्दै एमाले सिध्याउने खेलको अवसान मंसिर ४ गते हुने बताए । कार्यक्रममा नवप्रवेशी नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि योङ्याले देशको समृद्धि एमालेबाट मात्र सम्भव रहेको बताए ।

प्रकाशित मिति : November 10, 2022 at 4:40 pm









