१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

३ कम्पनीले सार्वजनिक गरे वित्तीय विवरण, कुनको अवस्था कस्तो ?

२४ कार्तिक, काठमाडौं । बिहिबार तीन कम्पनीको वित्तीय विवरण सार्वजनिक भएको छ । वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरू सानिमा माई हाइड्रोपावर लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी  रहेका छन् ।

१) सानिमा माई हाइड्रोपावर 

सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। हाइड्रोपावरले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा घटेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ४.४२ प्रतिशतले घटेर २३ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष २४ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ६.४३ प्रतिशतले घटेर ३२ करोड १७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३४ करोड ३८ लाख रुपैयाँ विद्युत बिक्रीबापत आम्दानी गरेको थियो। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ।

वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ७.५२ रुपैयाँमा झरेको छ। गत वर्ष ईपीएस ८.६६ रुपैयाँ रहेको थियो। याे अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.५१ गुणा रहेको छ।

२) दिव्यश्वरी हाइड्रोपावर लिमिटेड

दिव्यश्वरी हाइड्रोपावर लिमिटेड चालू आर्थिक वर्षको प्रथम त्रैमासम्ममा ७ लाख ३८ हजार रुपैयाँ नाफा कमाएकाे छ। गत वर्ष यही अवधिमा कम्पनीले २९ लाख ३७ हजार रुपैयाँ नाफा कमाएकाे थियो। गत वर्ष यही अवधिकाे तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ७४.८७ प्रतिशतको गिरावट आएको छ।

कम्पनीले विद्युत बिक्रीबापत ३ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८.९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट २ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएसए) घटेर ०.३० रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १५.९० रुपैयाँ रहेको छ।

३) मध्य भोटेकोशी जलविद्युत कम्पनी 

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. १ करोड ८५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नोक्सानी १५५ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी रू. ७२ लाख ६९ हजार खुद नोक्सानीमा रहेको थियो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको ब्यवस्थापकीय खर्च १ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष उक्त खर्च ७५ लाख रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्तापूँजी ६ अर्ब रुपैयाँ, रिटेन्ड अर्निग ३६ करोड ५३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : November 10, 2022 at 11:42 am