४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य, प्रतिक्विन्टल कति बढ्यो ?


२३ कार्तिक, काठमाडौँ । सरकारले धानको मूल्यमा वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको छ ।

कार्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ तोकेको हो । गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रतिक्विन्टर २१५ रुपैयाँले बढेकाे हो ।

त्यस्तै मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकिएको छ । यो मूल्य गत वर्षको तुलनामा २२६ रुपैयाँ भन्दा बढी हो । सरकारले गत आर्थिक वर्ष २०७८/७९ को लागि मोटा धानको न्यूनतम समर्थन मूल्य २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले न्यूनतम समर्थन मूल्य अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट धान खरिद हुने व्यवस्था रहेको बताए । यसैगरी न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड रूपैयाँ बजेटको व्यवस्था गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको  न्यूनतम् समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने प्रवक्ता सञ्जेलले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १६:५४