१० असार २०८३, बुधबार | Wed Jun 24 2026

सम्पदा बस्ती मौलिक स्वरुपमा पुनर्निर्माण गरिने

३० भदौ, काठमाडौँ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले काठमाडौं उपत्यकाभित्रका खोकना, बुङमती, सांखु, किलागलजस्ता परम्परागत बस्तीहरु तथा उपत्यका बाहिरका नुवाकोट, गोरखाका दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजारजस्ता क्षेत्रहरुमा परेका बस्तीहरुको पुनर्निर्माण गर्दा बस्तीको मौलिक स्वरुपलाई यथावत कायम गर्ने गरी पुनर्निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकले ती क्षेत्रमा आवश्यक पर्ने बाटो, खानेपानी, ढलनिकास लगायतमा पूर्वाधारहरुको पुनर्निर्माण गर्नका लागि सरकारले प्राधिकरणमार्फत् नै लगानी गर्ने निर्णय पनि गरेको छ । त्यस्ता बस्तीहरुमा रहेका निजी आवास पुनर्निर्माण गर्नुपर्ने घरधनीहरुलाई मौलिक÷पुरातात्विक शैलीमा पुनर्निर्माण गर्न थप ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी, कार्यकारी समितिले २ वा २ भन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेको खण्डमा निजहरुलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको संख्या गणना गरी अनुदान रकम उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । साथै, काठमाडौं उपत्यकाभित्रका बस्तीहरुमा लाभग्राही सूचीमा परेका घरहरुको पुनर्निर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने निर्णय पनि प्राधिकरण कार्यकारी समितिले गरेको छ ।

प्रकाशित मिति : September 15, 2018 at 8:18 am