१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कालीकोटमा बम विस्फोट, २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते

१२ कात्तिक, काठमाडौं । कालीकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा २ जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । यस्तै, ४ वर्षकी सरस्वती रानाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु उनले बताए ।

बम नयाँ हो वा पुरानो भन्ने नखुलेको प्रहरीको भनाइ छ । गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।

पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । खेल्न गएका बालबालिकाको साथमा हसिया रहेको खुलेको शर्माले जानकारी दिए । बम विस्फोट भएको जमिनमा प्वाल परेको छ र नजिकै दुई वटा बमका टुक्रा भेटिएको छ । ‘घटनाको बारेमा यो भन्दा बढी केही जानकारी आएको छैन, अनुसन्धान भइरहेको छ’ शर्माले भने ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार १३:०२