नेकपा एकीकृत समाजवादीका दिलुसहित ६ नेताको उम्मेदवारी खारेज
९ कार्तिक, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका ६ नेताको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ । निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै समाजवादीका ६ उम्मेदवारसँगै ५५० जनाको उम्मेदवारी खारेजीको निर्णय गरेको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका ५५० व्यक्तिको उम्मेदवारी खारेज भएको हो ।
उम्मेदवारी खारेज भएका समाजवादीका नेताहरूमा ओमचारण अमात्य, ताराकुमारी विश्वकर्मा, दिलु बुदजा, सीताकुमारी शर्मा, लक्ष्मण चौधरी र जयन्तीकुमार सारू मगर रहेका छन । बुदुजाको लैंङ्गिक पहिचान फरक परेका कारण र बाँकीको निर्वाचन अयोगले तोकेको जरिवाना नबुझाएका कारणलउनीहरूको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यस्तै बन्दसूचीमा समावेश रहेकामध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधिसभा सदस्यतर्फ २३ जना र प्रदेशसभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरुषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका छ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका छ जनाको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको छ ।

प्रकाशित मिति : October 26, 2022 at 8:11 am









