२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

रामकुमारी झाँक्री लाजै नमानी नबोलाएको सहकारीको साधारणसभामा छिरेपछि तनाव…

९ कार्तिक, गुल्मी । पछिल्लो समय विभिन्न फण्डा गरेर चर्चामा रहने काम गरिरहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीका कारण एउटा सहकारीको कार्यक्रममा साधारणसभामा झण्डै कुटाकुटको अवस्था सिर्जना भएको छ । रेसुंगा नगरपालिका ४ को स्वाबलम्बन कृषक बचत तथा ऋण सहकारी संस्थाको साधारणसभामा रामकुमारीले हस्तक्षेप गरेर भित्र प्रवेश गरी मान्छे चिन्ने भन्दै भोट मागेकी हुन ।

गुल्मी क्षेत्र नम्बर २ मा पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी झाँक्रीले घरदैलोका नाममा सहकारीको साधारणसभामा विना अनुमति छिरेर भोट मागेपछि तनाव उत्पन भएको हो । निर्वाचन आयोगले मतदानको १८ दिनअघिदेखिमात्र प्रचारप्रसारको समय तोकेको भए पनि आचारसंहिता विपरित घरदैलो कार्यक्रममा रहेकी झाँक्री अनुमति बिनै सहकारीको साधारणसभा गएर माइक कब्जा गरेर बोलिन ।

झाँक्रीको उक्त हर्कतपछि साधारण सदस्यहरूले सहकारीका पदाधिकारीलाई झाँक्रीले खरिद गरेको आरोप लगाएका छन । उनीहरूले साधारणसभाको पूर्व निर्धारित कार्यक्रममा सूचीमै नभएको विषयमा कुनै एक राजनीतिक दलको नेतालाई बोल्न दिनुमा पैसाको लेनदेन नै रहेको र पदाधिकारीहरू बिक्री भएको बताएका हुन ।

निर्वाचन आचारसंहिताले औचारिक कार्यक्रमहरूमा गएर उम्मेदवारहरूलाई मत माग्न रोक लगाएको छ । तर झाँक्रीले निर्वाचन आचारसंहिताको बारम्बार उलंघन गरिरहेकी छिन । उनको यसखालको प्रवृतिको सार्वजनिक रूपमा बिरोध भैरहेको छ । केही सयको संख्यामा रहेका समाजवादीका कार्यकर्ता र नेताहरू पनि उनको प्रवृतिबाट आजित भएका छन ।

रामकुमारी झाँक्रीको पैसामा बिक्री भएको आरोपपछि सहकारीका स्वाबलम्बन सहकारीका अध्यक्ष कृष्णप्रसाद पन्थीसहितका पदाधिकारीले एक संयुक्त विज्ञप्ति जारी गरी घटनाका सम्बन्धमा प्रष्ट पार्ने प्रयास गरेका छन । उनीहरूले रामाकुमारी झाँक्रीसहितका गठबन्धनका नेताहरू सहकारीको साधारणसभा स्थलमा जबरजस्ती प्रवेश गरेको प्रष्ट पार्दै कुनैपनि किसिमको आर्थिक र राजनीतिक लेनदेन नभएको बताएका छन ।

झाँक्री विवादित बन्दै गएको समयमा उनका प्रमुख सहयोगी रहेका यसअघि बलात्कार आरोपमा पक्राउसमेत परेका पत्रकार शिव सुवेदीले भने चुनावमा खर्च चाहिए भन्नु है भन्दै सामाजिक सञ्जालमा लाखौँ रूपैयाँ प्रदर्शनमा राखेका छन । त्यसपछि गुल्मीका गठबन्धनका दलका नेता कार्यकर्ता समेत समस्यामा परेका छन । उनीहरूको विरूद्धमा निर्वाचन आयोगमा उजुरी समेत परेको छ ।

प्रकाशित मिति : October 26, 2022 at 5:12 am