२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

डडेलधुराकै कांग्रेस कार्यकर्ताले शेरबहादुर देउवालाई भोट नहाल्ने (विज्ञप्तिसहित)

६ कार्तिक, डडेलधुरा । आफूहरुले राखेका विकास निर्माणका मागका सम्बन्धमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वेवास्ता गरेको भन्दै काँग्रेस वडा समितीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । सभापति देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा कांग्रेसको वडा समितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने भएको छ ।

जिल्लाको भागेश्वर गाउँपालिका–५ को कांग्रेसको वडा समितिले वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो । चुनाव बहिष्कार गर्दै कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निणर्य बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ। वडा कमिटीले ती माग सम्बोधनका सम्बन्धमा जिल्लास्तरका नेताहरुसँग नभएर सोझै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासँग मात्र कुरा गर्ने कुरासमेत उल्लेख गरिएको छ।

 

प्रकाशित मिति : October 23, 2022 at 12:42 pm