२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

राजुको उम्मेदवारी खारेज भएसँगै रूपन्देही २ एमालेका विष्णु पाैडेलका लागि सहज

४ कात्तिक, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवं पाँच दलीय गठबन्धनका तर्फबाट रूपन्देही क्षेत्र नम्बर २ को साझा उम्मेदवार रहेका राजु गुरूङको उम्मेदवारी खारेज सर्वोच्च अदालतले सदर गरेको छ । शुक्रबार न्यायाधीशद्धय इश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशले गुरूङको उम्मेदवारी खारेजको निर्णय सदर गरेको हो ।

आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो । कालो सूचीमा नाम रहेकाले गुरुङको उम्मेदवार हुन नपाउने सर्वोच्चको आदेशमा भनिएको छ। योसँगै नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेलका लागि रूपन्देही २ मा चुनाव जित्न सहज भएको छ । गठबन्धन उम्मेदवार बिहीन भएका कारण पाैडेलले सम्भावना बलियो देखिएको हो ।

गुरुङ सहित नेकपा एकिकृत समाजबादीका बरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनाल सहितका नाममा रहेको कम्पनीले काठमाण्डौको सुर्य बिनायकको वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एण्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जीत बिष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरु बिरुद्ध २०७६ साल साउन ६ गते मुद्धा दर्ता गरेका थिए।

काठमाण्डौ जिल्ला अदालतले नर्थ वेस्ट नेपाल ईन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सन्चालक निर्भिक चित्रकार खनाल, फुर्वा छिरीङ सेर्पा, सन्जिप राई र सक्तीमान डंगोल समेतले दिएको चेक अनादर सम्वन्धी मुद्धामा २०७८ मंसिर १२ गते उनीहरु माथी जरिवाना गर्ने फैसला गरेको थियो।

गुरुङ लगायतलाई जनही २ हजार जरिवना र २ करोड २५ लाख रुपैयाको चेक काटिएको मिति देखि २०७६ साउन ६ गते सम्मको सयकडा १० प्रतिसतका दरले कानून बमोजिमको ब्याज सहित भुक्तानी दिनु पर्ने फैसला गरेको थियो।

गुरुङहरुको उक्त कम्पनीले २०७३ साल फागुन २०गते २५ लाख, फागुन ३० गते २५ लाख चैत्र १५ गते २४ लाख, चैत्र ३० गते ५४ लाख, २०७४ बैसाख १५ गते २५ लाख, बैसाख ३० गते ३० लाख, जेठ १५ गते ३५ लाख रुपैया गरी ७ वटा चेक दिएकोमा बैंकमा प्रयाप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरु बिरुद्ध उजुरी परेको थियो।

प्रकाशित मिति : 19:22