प्रेस चौतारी ललितपुरद्धारा मिडिया डेक्स स्थापना
४ कार्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ प्रचार प्रसारका लागि ललितपुरमा मिडिया डेक्स स्थापना गरिएको छ । एमाले ललितपुर जिल्ला प्रचार प्रसार उपसमितिको आयोजना तथा प्रेस चौतारी नेपाल ललितपुरको समन्वयमा आज पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरिकृष्ण व्यञजनकारले उक्त डेक्सको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा व्यवञ्जनकारले राष्ट्रियताका साथै किसान मजदुरको पक्षमा पार्टीका उम्मेदवारहरुले बोलेका कुरालाई प्राथमिकता दिँदै प्रचार प्रसारमा लाग्ने प्रेस चौतारीमा आवद्ध पत्रकारलाई आवहान गर्नुभयो । उहाँले भन्नुभयो, “ललितपुरलाई विगतमा जस्तै एमालेको लालकिल्ला बनाउन चौतारीमा आवद्ध पत्रकारहरुको सदैव महत्वपूर्ण भूमिका रहेको छ । आउँदो निर्वाचनमा पनि त्यस्तै किसिमको भूमिका पाउने पार्टीले अपेक्षा गरेको छ ।
एमाले ललितपुर जिल्ला कमिटिका अध्यक्ष पुरुषोतम आचार्यले चौतारीका साथिहरुले उम्मेदवारको कुरा मात्र प्रचार नगरी जनताको आशा र भरोसाका कुराहरुलाई पनि बाहिर ल्याउनुपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “यसका लागि पार्टीले गर्ने समन्वय र सहयोगमा कुनै कसर बाँकी राख्ने छैन ।”
ललितपुर जिल्ला निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक गोपाल सञ्जेलले प्रचार विभागमा पार्टीले सहयोग र समन्वय गर्ने कुरा चौतारीमा आवद्ध व्यक्तिलाई जानकारी गराउँदै विजय गराउन लागि पर्न समेत अनुरोध गर्नुभयो । प्रेस चौतारी ललितपुरका इन्चार्ज इश्वरराज ढकालले एक उम्मेदवार एक पत्रकारको अवधारणा अनुरुप आफूहरुले चौतारीका साथिलाई परिचालन गरिसकेको बताउँदै तोकिएको जिम्मेवार पूर्ण रुपमा पालना हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्य, वाग्मती प्रदेश कमिटिका सदस्य बाबुकाजी प्रधान, एमाले ललितपुर प्रचार विभाग सहसंयोजक राजेन्द्र न्यौपाने, एमाले ललितपुर जिल्ला कमिटि उपसचिव श्याम व्यञजनकार, पार्टीका आर्थिक विभाग प्रमख गम्भीर राणाको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : October 21, 2022 at 2:16 pm









