२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

नेपाली युवा विदेश लखेटेर अंगीकृत नागरिक मार्फत देश चलाउने सोच


-सरोजकुमार तामाङ

‘फ्रि भिसा र फ्रि’ टिकटको कुरा चुनावको पूर्वसन्ध्यामा आएर कुनै राजनीतिक दलका जिम्मेवार नेताहरुले गर्छ भने त्यो जनताको शासन ब्यवस्था भनिने लोकतन्त्रमा जनतालाई बेबकूफ बनाउनु हो । २०४६ मा प्रजातन्त्र प्राप्ति पश्चात खुल्ला अर्थतन्त्रको नाममा उदारवादको शिकार बनाउँदै नेपालको निर्यातमुखी अर्थब्यवस्थालाई आयातमुखी बनाए । त्यसैको परिणाम आज उत्पादनसँग जोडिनु पर्ने अर्थब्यवस्था उपभोक्तामुखी भए ।

भारतीय विस्तारवाद, वैदेशिक एकाधिकारवाद पुँजीवाद र साम्राज्यवादका बहुराष्ट्रिय कम्पनीहरुको नेपाली जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने सस्तो गुणस्तरहीन वस्तु तथा सेवाहरुको बिक्री थलो बने । अबको राजनीति कार्यभार भनेको प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा र संस्थागत गर्दै आर्थिक, सामाजिक र साँस्कृतिक क्रान्ति गर्नु पर्ने ठाउँमा उल्टै फ्रि भिसा र फ्रि टिकट दिलाएर यो मुलुकको युवा पुस्तालाई स्वदेशमै रोजगारीको ब्यवस्था ग्यारेन्टी गर्नुको सट्टा बिदेश पलायन गराउँदै अर्थब्यवस्थालाई अझ परनिर्भर बनाउने खेल परमादेशी सरकारका नेताहरु माधवकुमार नेपाल, डा आरजु राणा देउवा र किशान श्नेष्ठले गर्न खोज्दैछ । उनीहरूको अभिव्यक्ति संयोगमात्र होइन भन्ने कुराको प्रमाणित गठबन्धनको सरकारले प्रमाणित नै गरिरहेकोछ ।

लेखक तामाङ ।

यसरी नेपाली युवाहरु विदेश पलायन गराएर अंगीकृत नागरिकता मार्फत यो मुलुकको शासन ब्यवस्था विदेशीको हातमा सुमप्याउने दाउ यिनीहरु गर्दैछ । यो परमादेशी सरकार बनेदेखी आजसम्म कुनैपनि जनहित र मुलुकहितका विधेयकहरु सार्वभौमसत्ता जनताको गरिमामय सदनबाट पास गरेको छैन् । यिनीहरु सत्तामा टिकी राख्न विदेशी शक्तिहरुको गुलामी र दलाली गर्दा आज हाम्रै राष्ट्रियता खतरामा परेको छ । यो बुझ्ने कसले ?

मुलुक फिजीकरण र सिक्किमीकरणको दिशा उन्मुख छ । यो बारेमा समयमै हामी सचेत हुनसकेनौं भने हाम्रो राष्ट्रियताको परिचय अन्त्य पराईको मुखबाट सुन्ने दिन अब धेरै टाढा छैन् । कम्युनिष्टको सिद्धान्त राष्ट्रियता हैन, वर्गसंघर्ष हो तर नेपालको विशिष्ट परिस्थिति अनुरूप यो मुलुकको राष्ट्रियता हाम्रो प्रथम प्राथमिकता हुनुपर्छ । मुलुकै नरहे कसरी राजनीति गर्ने ?

अब जनमतको आडमा जनतामाथि शोषण, दमन, उत्पीडन र छुवाछूतको गन्ध फैलाउन खोज्छ भने जनकार्वाही हुनुपर्छ । त्यो भनेको आगामी मंसीर ४ को निर्वाचनबाट सदाको निम्ति यस्ता कुतत्वहरुको राजनीतिक भविष्य समाप्त पार्नु नै कालो बादल फाटेर यो मुलुकमा सूर्य उदाउनु हो । फ्रि भिसा फ्रि टिकट दिलाएर मुलुकको भविष्य खम्बा युवाहरुलाई विदेशीन बाध्य तुल्याउछ भने त्यसको सन्देश भनेको यो मुलुकभित्र कलकारखाना खोलेर युवालाई रोजगार र मुलुकलाई आत्मनिर्भर हैन कि अघोषित रुपमा यी माकुने, आरजु र किशानहरु बहुराष्ट्रिय कम्पनीका गुणस्तरहीन वस्तु तथा सेवाहरु बेच्न स्वागत गर्नु हो ।

यसरी संविधानमै अंकित आर्थिक क्रान्ति गरेसँगै समाजवाद उन्मुख अर्थब्यवस्था आउछ ? योबाट के प्रष्ट हुन्छ भने प्रचन्ड, शेरबहादुर र माकुनेहरु यो मुलुकको विकास र समृद्धिको निम्ति चिन्तित छैन्न । यस्ता चिन्ताहीन र गुणस्तरहीन राजनीति गर्नेहरुको बोलीमाथि अब निर्मम तरिकाले जनताले कैंची चलाउनु पर्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार ११:५२