एमाले सरकार हुँदा विकासका सपना विपनामा परिणत भएका छन्ः अध्यक्ष ओली
३ कात्तिक, झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि मुलुकमा एमालेको सरकार बन्ने बताएका छन् । गृह जिल्ला झापामा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि एमालेलाई जनताले सरकारको नेतृत्वमा पुर्याउने बताए ।
नेपाल समृद्ध हुनुपर्ने र सबै नेपाली जनता सुखी हुनुपर्ने अभियानमा एमाले लागिरहेको भन्दै उनले सूर्य चिन्हमा मतदान गरेर एमालेको सरकार बनाउन सबै नेपालीलाई आह्वान गरे । आफू नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिसँगै हरेक क्षेत्रमा असाधारण काम गरेको र देशको विकास गर्न एमालेकै सरकार चाहिने अध्यक्ष ओलीले बताए ।
एमालेले सरकारको नेतृत्व गर्दा देशको आर्थिक अवस्था ठिक रहेको तर गठबन्धन सरकार आएपछि अर्थतन्त्र सङ्कटमा परेको उनले बताए । अरूका लागि कम्फरटेबल सरकार बनाइदिने उद्घोष सहित बनेको गठबन्धन सरकार बिकाउ माल भएको पनि उनले बताए ।
देश लुटेर खाने बाहेक गठबन्धन दलले केही गर्न नसकेका अध्यक्ष ओलीले बताए । अध्यक्ष ओलीले नेपाली जनताले हिजो देखेका विकासका सपना आज विपनामा परिणत भएको धारणा राखे ।
प्रकाशित मिति : October 20, 2022 at 9:19 pm









