घुस खाएर कीर्ते गर्ने मालपोत अधिकृतसहित नौ पक्राउ
२६ भदाै, काठमाडाैँ । प्रहरीले बूढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न मालपोत कार्यालयल चाबहिलका कर्मचारीसहित नौ जनालाई आज पक्राउ गरेको छ ।
जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जनाकारी दिनुभयो । त्यस्तै प्रहरीले जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न बिचौलिया ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई समेत पक्राउ गरेका छन् ।
मालपोतका कर्मचारीको मिलेमतोमा उनीहरुले प्रदीपप्रसादको नाममा जग्गाधनी कायस्थको नक्कली वारेसनामा बनाई कित्ता नं ३२९ को एक रोपनी नौ आना तीन पैसा, कित्ता नं ३२५ को आठ आना एक पैसा र कित्ता नं ३२३ को छ आना जग्गा ध्रुवप्रसाद र श्रीकृष्णको नाममा पास गरेका थिए ।
पक्राउ परेका नौ जनालाई लिखतसम्बन्धी कसूर र सङ्गठित अपराध मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उपरीक्षक लामाले बताउनुभयो ।
प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलवार १९:०४