७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

विज्ञानका क्षेत्रमा गरिने नयाँ आविष्कारले ठूलो रोजगारी सिर्जना गदर्छः प्रधानमन्त्री

१ असाेज, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव जीवन सुखी तथा सहज बनाउन वैज्ञानिक खोज अनुसन्धान हुँदै आएको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १०औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुकमा आधुनिक विज्ञान शिक्षाको सुरुआत भएको धेरै लामो समय नभए पनि यस क्षेत्रको केही विकास भइरहेको बताए । विज्ञान, प्रविधिको विकास, वैज्ञानिक जनशक्ति उत्पादन, नवीनतम आविष्कार र उनीहरुको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले भने, “देशको विकास र समृद्धिका लागि महत्वपूर्ण रहेको विज्ञानका क्षेत्रमा गरिने नयाँ आविष्कारले ठूलो रोजगारी सिर्जना गदर्छ ।”

प्रधानमन्त्री देउवाले डिजिटल अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिँदै वैज्ञानिक जनशक्तिलाई अनुसन्धानको व्यवस्थापन तथा प्रतिभाको संरक्षण गर्ने नीति सरकारको रहेको त्यसका लागि निजी क्षेत्रको सहयोगको अपेक्षा गरे ।

यस क्षेत्रलाई फराकिलो बनाउन स्वदेशी तथा विदेशी लगानीको खाँचो औँल्याउँदै उनले विज्ञान शिक्षाको विकास गर्न गाउँदेखि नै उचित वातावरण तयार पार्नुपर्ने विचार व्यक्त गरे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको समय सूचना र प्रविधिको भएकाले त्यस क्षेत्रमा कार्य गर्नुपर्ने बताउँदै विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा क्रियाशील गराइने विश्वास व्यक्त गरे ।

राज्यमन्त्री बोधमाया कुमारी यादवले दिवसको सफलताको शुभकामना व्यक्त गर्दै देशको दिगो विकासका लागि विज्ञान शिक्षाको खाँचो औँल्याए । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले कूल गार्हस्थ्य उत्पादनको एक प्रतिशत वैज्ञानिक खोज अनुसन्धानमा लगानी गर्नुपर्ने बताउँदै यस क्षेत्रमा हामी कहाँ छौँ र कहाँसम्मको गन्तव्य हो त्यसको पहिचान गर्नुपर्ने विचार व्यक्त गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले वैज्ञानिक उत्पादन तथा आविष्कारका लागि आवश्यक अनुसन्धानका क्षेत्रमा लगानी न्यून भएकाले त्यसलाई वृद्धि गर्नुपर्ने बताए । सो अवसरमा विज्ञान शिक्षाका विभिन्न सङ्कायका क्षेत्रमा क्रियाशील व्यक्तिलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : September 17, 2022 at 3:55 pm